पु.समाचार

हत्या प्रकरणमा एक युवतीसहित चार जनामाथि अनुसन्धान शुरु– डीएसपी चन्द

कञ्चनपुर । चार दिनअघि होटलमा शङ्कास्पद अवस्थामा मृत भेटिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–३ का २२ वर्षीय अजय चौधरी प्रकरणमा प्रहरीले गहन अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले घटनाको सुक्ष्मरुपमा अनुसन्धान थालिएको भन्दै घटनाको सत्यतथ्य बाहिर आउने बताए ।

“मृतकका परिवारबाट आएको जाहेरीका आधारमा हामीले मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइसकेका छौं”, प्रवक्ता चन्दले भने, “एक युवतीसहित चार जनामाथि अनुसन्धान हुँदैछ ।”

मृतक अजयसँगै रहेका युवतीलाई प्रहरीले पक्राउ गरेको भन्दै चन्दले युवतीबाटै घटनाको रहस्य बाहिर आउने दाबीसमेत गरे । प्रवक्ता चन्दले भने, “घटनामा संलग्न रहेको आंशङ्कामा अन्य तीनजना माथि अनुसन्धान शुरु गरिएको र केही दिनपछि विस्तृत अनुसन्धान पनि बाहिर आउँछ ।”

मृतकका आफन्तले अजयको हत्या गरिएको दाबीसहित मुद्दा दायर गरेका हुन् ।