समाचार

कमलपोखरीमा बालगोपालेश्वरको प्रतीक

काठमाडौं । काठमाडौँ महानगरपालिका–१ स्थित कमलपोखरीमा छठका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिरको प्रतीक निर्माण गरिएको छ । करीब ३२ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको मध्यभागमा बनाइएको उक्त संरचना अस्थायी प्रकृतिको हो ।

कञ्चनजङ्घा अगरबत्तीले करीब रु छ लाखको लागतमा निर्माण गरेको उक्त मन्दिरले त्यस क्षेत्रको आकर्षण बढाएको छ भने पोखरी तथा त्यस आसपास स्थानमा सफाइ गरी चिटिक्क पारिएको छ । पोखरीमा आउने व्रतालु तथा घुम्न आएका भक्तजनलाई मन्दिर जानका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

कमलपोखरी छठ पूजा समितिले विगत नौ वर्षदेखि यस स्थानमा आउने भक्तजनलाई पूजाका लागि आवश्यक व्यवस्था गर्दै आएको छ । समितिले यहाँ पूजाका लागि आउने भक्तजनका लागि यस पटक ३२० वटा घाटको प्रबन्ध गरेको समितिका सल्लाहाकार जीतेन्द्र झाले जानकारी दिएका छन्नुर ।

अहिलेसम्म ३०० घाटको बुकिङ भइसकेको छ । दर्शन गर्न आउने भक्तजनको भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवकको समेत प्रबन्ध गरेको समितिले कार्यक्रमस्थलमा व्रतालु तथा भक्तजन बिरामी भएमा प्रारम्भिक उपचारको व्यवस्थाका साथै गम्भीर प्रकृतिका बिरामीका लागि एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

स्थानीय हिमालय नर्सिङ् होमसँग समन्वय गरी बिरामीलाई थप उपचारको व्यवस्थासमेत गरेको समितिले जनाएको छ । पोखरीको किनारमा बाँसले घेरिएको छ । बिजुली बत्तीले पोखरीको वरपर क्षेत्रलाई विशेष सिङ्गारिएको छ ।

भक्तजनले विधिपूर्वक छठपर्व अन्तर्गत यसवर्ष शनिबार साँझ अस्ताउँदो सूर्य तथा आइतबार उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रम छ । छठी माताको पूजा तथा दर्शन गरेमा परिवारमा सुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास गरिएको छ ।

तराई क्षेत्रमा मात्र प्रचलनमा रहेको यो पर्व अहिले काठमाडौँ उपत्यकामा लोकप्रिय बन्दै गइरहेको छ भने नागपोखरी, गुहेश्वरी, बल्खु, थापाथलीका साथै नदी आसपास क्षेत्रमा मनाइन्छ । रानीपोखरीमा पुनःनिर्माणका काम भइरहेकाले केही वर्षदेखि छठको पूजा हुनसकेको छैन ।