स्वास्थ्य

चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

चितवन । चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज चितवनमा पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने भनेर प्रतिवेदन दिन समिति गठन गरिएको थियो ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले सो समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आगामी शुल्कमा समायोजन गरिने बताएका छन् ।

उनका अनुसार एमबीबीएसमा एक विद्यार्थीसँग रु छ लाख र बिडीएसमा रु एक लाख २५ हजार बढी लिइएको छ । त्यसमध्येबाट त्रिवि रजिष्टे«शन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिनेछ ।

गत वर्ष आइओएमले एमबीबीएसमा रु ४२ लाख ४५ हजार र बिडीएसमा रु १९ लाख ३२ हजार तोकेको थियो । कलेजले एमबीबीएसमा रु ६० लाखसम्म असुल गरेको विद्यार्थीको आरोप छ । कलेजले बढी लिएको सबै शुल्क समायोजन गर्ने जनाएको छ ।

उनले प्रशासनको रोहवरमा कलेजका तर्फबाट गर्नुपर्ने भनी गरिएका सबै सम्झौता कार्यान्वयन गर्न तयार भए पनि विद्यार्थीका तर्फबाट गर्नुपर्ने काम हुन नसकेको बताए । उनले भने,“विद्यार्थीले पठनपाठन सञ्चालन गराउने वातावरण नबनाउँदा एमबीबीएसलगायत अन्य सङ्कायका विद्यार्थीले कात्तिक २० गते हुने परीक्षाको फारम कात्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा नभरेको हुँदा सहमतिप्रति विद्यार्थी जिम्मेवार नबनेको प्रष्ट देखिन्छ ।

”सो अवसरमा उनले आगामी भर्नाका विषयमा कलेजहरुको साझा संस्था एशोसिएसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालको निर्णयअनुसार गरिने बताए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विद्यार्थीलाई पूर्ववतरूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरिएको छ ।

यता विद्यार्थीहरुले भने बढी लिएको शुल्क समायोजनमा कलेज प्रशासनले आलटाल गरेको आरोप लगाउँदै आएका छन् ।