आर्थिक

पर्यटकको सङ्ख्यासँगै राजश्व बढ्यो

भत्तपुर । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा भक्तपुरमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै राजश्व पनि बढेको छ । पर्यटक बढेसँगै भक्तपुर नगरपालिकाले सङ्कलन गर्ने पर्यटन शुल्कसमेत बढेको छ । चालू आवको साउन, भदौ र असोज महिनामा गत वर्षभन्दा यस वर्ष ६०० पर्यटक बढेको छ ।

आव २०७५÷७६ को साउन, भदौ र असोजको तीन महिनामा ५६ हजार ५१२ पर्यटक आगमन भएकामा चालू आव २०७६÷७७ को साउन, भदौ र असोजमा यो सङ्ख्या बढेर ५७ हजार ३२९ पुगेको छ ।

भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख गौतम लासिवाका अनुसार यस वर्ष साउनमा १८ हजार ३९७, भदौमा १४ हजार २३२ र असोजमा २४ हजार ७०० पर्यटकले भक्तपुरको अवलोकन गरेका छन् ।

गत आवको साउनमा भन्दा यस वर्षको साउनमा दुई हजार ३१८ पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने भदौ र असोजमा भक्तपुर आउने पर्यटकको सङ्ख्या घटेको छ । भदौमा गत वर्षभन्दा एक हजार ४७६ पर्यटक घटेका छन् ।

भक्तपुरमा सार्क र चीनबाट २७ हजार ४४६ पर्यटकले भ्रमण गरेका छन् भने अन्य मुलुकबाट २९ हजार ८८८ ले भक्तपुरको भ्रमण गरेका छन् । साउन महिनामा सार्क र चीनबाट १० हजार २५६ र अन्य मुलुकबाट आठ हजार १४१ ले भ्रमण गरेका छन् ।

भदौमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुक र चीनबाट छ हजार ८६३ र अन्य मुलुकबाट सात हजार ३६९ ले असोजमा सार्क र चीनबाट १० हजार ३२७ र अन्य मुलुकबाट १४ हजार ३७३ जनाले भक्तपुरको अवलोकन गरेका छन् ।

पर्यटकको सङ्ख्या बढेसँगै भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट सङ्कलन गर्ने राजश्वसमेत वृद्धि भएको छ । आव २०७६÷७७ को तीन महिनामा रु पाँच करोड ८५ लाख राजश्व सङ्कलन गरेको छ । नगरपालिकाले सार्क र चीनका पर्यटकलाई प्रवेश शुल्क ५०० र अन्य मुलुकका पर्यटकलाई रु एक हजार ५०० प्रवेश शुल्क लिँदै आएको छ ।

यस आवको साउन, भदौ र असोजमा पर्यटकबाट रु पाँच करोड ८५ लाख ४७ हजार ५०० राजश्व सङ्कलन भएको पर्यटक सूचना केन्द्र भक्तपुरका प्रमुख लासिवाले जानकारी दिएका छन् ।