राजनीति

अध्यक्ष शाह लगायतलाई विनाशर्त रिहाई र भ्रष्ट सरकारका मतियार प्रहरीलाई कारबाही गर्न बस्नेतको माग

काठमाण्डौ । नेपाल तरुण दलले नेपालगंज उपमहानगरपालीकाका अध्यक्ष सन्दीपजंग शाह लगायतका तरुण नेताहरुलाई राती अराजक शैलीमा प्रहरीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । दलका अध्यक्ष जितजंग बस्नेतले घरायसी छलफलमा बसिरहेका बेला प्रहरीको अराजक भीड आएको र प्रहरीले ल्याएको हतियार नेता शाहको गाडीबाट बरामद गरेको आरोप लगाएको बताउँदै त्यस्तो हर्कत गर्ने भ्रष्ट कम्युनिष्ट सरकारलाई नसच्चिए ठेगान लगाउने चेतावनी दिएका छन् ।

काँग्रेस युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले झुठा मुद्धा लगाउन नेता शाहलाई फसाउन खोज्ने प्रहरीका स्थानीय डीएसपी लगायत षढ्यन्त्रकारी प्रहरीलाई कारबाही गर्दै शाह लगायतका नेताहरुलाई बिनाशर्त रिहाई गर्न ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष बस्नेतले अध्यक्ष शाहसहित दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली, यमबहादुर बुढा लाई बिना शर्त रिहाई गर्न भन्दै यस्ता कार्यमा लोकतन्त्रबादी तरुणहरुलाई आईन्दादेखी फसाउने कार्य नगर्न भनेका छन् । उनले प्रहरीलाई निष्पक्ष रुपमा अनुसंधान गरी बन्दुक कसरी आएको हो, फिँगर प्रिन्ट जाँच गर्न समेत चुनौती दिएका हुन् । बिहीबार राती ८ः ३० बजे शाह लगायतका नेताहरु पक्राउ परेपछि अध्यक्ष बस्नेतले विज्ञप्ती निकाल्दै उक्त कुरा बताएका हुन् । नेपालगंजमा एक महिनाअघि नेकपाका कार्यकर्ताले काँग्रेस सभापति किरण कोईराला लगायतलाई कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेको थिए ।