खेलकुद

फुटबल टोली भारत प्रस्थान

धनगढी । सुदूरपश्चिम–११ स्पोर्टस् क्लब, धनगढीको टोली फुटबल प्रतियोगिता खेल्न आज भारत उत्तराखण्ड राज्यको चम्पावत प्रस्थान गरेको छ । टोली शुक्रबारदेखि शुरु ‘अलइण्डिया काली कुमाउ कप प्रतियोगिता’मा सहभागी हुनेछ ।

फुटबल टोलीलाई आज धनगढीमा आयोजित कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बिदाइ गरे । बिदाइका क्रममा उनले भारतमा गएर सुदूरपश्चिम प्रदेश र नेपालको नाम उच्च राख्न आग्रह गरे । हरेक वर्ष भारतको स्पोर्टस् क्लब वेयलफेयर सोसाइटी, चम्पावतले अलइण्डिया काली कुमाउ कप प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष सुदूरपश्चिम–११ स्पोर्टस क्लब फाइनलमा दिल्ली स्पोर्टस् क्लबसँग पराजित भएको थियो । बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य प्रकाश विष्ट, सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमाललगायतको उपस्थिति थियो ।