समाचार

प्रहरीको गोलीबाट एकको मृत्यु, तनाबग्रस्त स्थीति नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा कर्फ्यू

कपिलबस्तु । लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ । मृत्य भएपछि स्थानीय प्रशाशनले कर्फ्यू लगाएको छ ।

कृष्णनगर बजार क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ । बुधबार भएको उक्त झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । झडपमा परी केही स्थानीयवासी र प्रहरीसमेत घाइते भएका छन । विषय सामान्य भए पनि विवाद उत्कर्षमा पुगेकाले अवस्था जटिल बनेको प्रहरीको भनाइ छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

आज बिहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७०० मिटर, पश्चिम तर्फ ७०० मिटर,पूर्व तर्फ ३०० मिटरमा निषेधाज्ञा लगाएको जनाएको छ । निषेधाज्ञा आदेश अवज्ञा गरे कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।