समाचार

महराको थुनछेक बहस हुँदैः आजै छुट्ने संभावजना कम

काठमाडौं । निर्वतमान सभामुख कृष्णबहदुर महरालाई आज अदालतमा उपस्थित गराईँदै छ । संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराको आज थुनछेक बहस सुरु हुँदै छ ।

थुनछेक बहास आजै सकिए साधारण तारेखमा छुट्ने, धरौटी माग गर्ने वा पुर्पक्षका लागि जेल पठाउने एउटा आदेश हुने छ । थुनामा राख्न तेस्रो पटकको म्याद थपपछि महरालाई आज थुनछेकका लागि अदालतमा पेस गरिन लागेको हो ।

काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक ५ दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो । महराको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या धेरै भएकाले आजै थुनछेक बहस सकिने सम्भावना कम रहेको प्रहरी अधिकारीले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गर्ने बताए । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप महरामामाथि लागेको छ ।