पर्यटन/संस्कृति

ऐतिहासिक घतानकोत मन्दिर पुनःनिर्माण सम्पन्न

म्याग्दी । धार्मिक, एतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ । स्थानीय समुदायको अगुवाइमा चन्दा सहयोग जुटाएर बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने सो मन्दिरको पुनःनिर्माण गरिएको हो ।

बाइसे–चौबिसे राज्यका पालामा तत्कालीन ढोलथाने राजाले पूजाआजाका लागि तीन सय वर्ष पहिले बनाएको सो मन्दिर जीर्ण भएको थियो । धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्यसहित मन्दिर पुनःनिर्माण गरिएको हो । कूल रु १९ लाख १३ हजार १३१ को लागतमा तीनतले प्यागोडा शैलीको उक्त मन्दिरको पुनःनिर्माण गरिएको निर्माण समितिका अध्यक्ष बुद्धीबहादुर चोखालले जानकारी दिएका छन् ।

मन्दिर पुनःनिर्माणका लागि प्रवासमा रहेका साविक घतानवासीबाट रु १२ लाख ६२ हजार ४०४ सहयोग प्राप्त भएको छ । गाउँमै रु एक लाख ८१ हजार २२५ सहयोग जुटेको थियो । बेनी नगरपालिकाबाट रु चार लाख ७५ हजार ५७५, सामुदायिक वन, खानेपानी, सिँचाइ उपभोक्ता समितिको कोषबाट रु ८७ हजार ६१०, गुठी संस्थानबाट पूजा व्यवस्थापनका लागि रु १५ हजार सहयोग प्राप्त भएको थियो ।

त्यस्तै कोत पूजा व्यवस्थापन समितिको रु ३८ हजार ५०० र ऋण सापटी ४० हजार खर्च भएको अध्यक्ष चोखालले बताए । २०७६ वैशाख १ गते शुरु गरिएको पुनःनिर्माण कार्य दशैँअघि नै सकेर नवदुर्गाको पूजा सञ्चालन गरिएको थियो । दशैँको समयमा नवदुर्गाको पूजाआजा हुने यो मन्दिरमा दैनिकरूपमा नियमित पूजा सञ्चालनको तयारी भएको छ । अध्यक्ष चोखालले मन्दिर परिसर घेराबार र खानेपानीको व्यवस्थापनका लागि सम्बद्ध निकायमा पहल गरिएको बताएका छन् ।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइमा अवस्थित घतानकोत मन्दिर परिसरबाट सूर्योदय, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल, म्याग्दी र पर्वतका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

बेनीदेखि पुलाश्रम, घतानकोत मन्दिर, ढोलथान, जगन्नाथ, गुफाको डाँडा र टोड्केलाई समेटेर धार्मिक पर्यटकीय पदमार्ग सञ्चालनको योजना अघि सारिएको बेनी नगरपालिका–९ का वडाध्यक्ष बेलबहादुर चोखालले बताए ।

ढोलथानमा यसै वर्ष विश्रामस्थल बनाउने र संरक्षणको काम शुरु गरिने उनले भने । पुलाश्रम, घतानकोत, ढोलथान र जगन्नाथसम्म पुग्ने सडक निर्माण भइसकेको छ । बेनी बजारदेखि सडकमा यातायातका साधन र पैदलमार्ग भएर यी स्थानमा पुग्न सकिन्छ ।