लुम्बिनी

सम्झौता अवधि सकिँदासम्म पनि पुल निर्माणको काम शुरु भएन

रुकुमपूर्व  । सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन  । पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम शुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ ।

लामो समय बितिसक्दा पनि सानीभेरी नदीमाथि बन्नुपर्ने पुल बन्न नसक्दा सिस्ने गाउँपालिकाका २, ३ र ४ वडाका सडक सञ्जालमा सदरमुकाम रुकुमकोटसँग जोडिन सकिरहेका छैनन् । जसले गर्दा उक्त रुट भएर आउजाउ गर्ने सर्वसाधारणले सास्ती खेपिरहेका छन् ।

विसं २०७५ को असारमै पुल निर्माणको काम सक्नेगरी सम्झौता भएको थियो । तर, हालसम्म पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । विसं २०७३ असार ३१ मा हेटौँडाको मृत सञ्जीवनी निर्माण सेवाले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

तर सो पुलको निर्माण कार्य भने अहिलेसम्म शुरु गरिएको छैन । कूल रु नौ करोड २० लाखको लागतमा निर्माण हुने सो पुलको निर्माण कार्य शुरु नगरेपछि सिस्ने गाउँपालिकाले ठेक्का लिएका निर्माण कम्पनीको ध्यानाकर्षण गराएको छ ।

आफूहरुले पटक–पटक सम्बन्धित पक्षलाई पुल निर्माणको कामलाई गति दिन भनिरहेको सिस्ने गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढाले बताएका छन् । “पुल नबनेर जनताले धेरै सास्ती पाएका छन्”, उपाध्यक्ष बुढाले भने “उक्त मार्ग भएर आवतजावत गर्ने ३ र ४ नं वडावासीलाई गाउँपालिका केन्द्र रुकुमकोट पुग्न समस्या भएको छ ।

 पुल निर्माण कार्यलाई छिटो गति दिन आग्रह गरिरहेको उपाध्यक्ष बुढाको भनाइ छ । पुल निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले भने नदीको एकापट्टि सडक नपुगेकाले निर्माण सामग्री ढुवानीमा समस्या भएर काममा ढिलाइ भएको बताएको छ । सम्झौताअनुसार काम गर्न नसकिए पनि अब छिट्टै पुल निर्माणको काम शुरु गरिने निमार्ण कम्पनीले जनाएको छ ।