समाचार

उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक केहिबेरमा बस्दै

काठमाडौं । नेपाली कांग्रसको पदाधिकारी बैठक आज वस्ने भएको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको नाम टुंगो लगाउन आज (बिहिबार) पदाधिकारी बैठक केहिबेरमा बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी टुंगो लगाउन पदाधिकारी तहमा छलफल गर्न बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको जानकारी उनले दिए । बैठकमा समसामयिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले कात्तिक शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारको नामावली सिफारिस भई प्राप्त नभएको भन्दै कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगित गरिएको थियो। ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।