खेलकुद

लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । इन्गिश प्रिमियर लिगको लिग लिडर लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको नाटकीय खेलमा आर्सनललाई पेनाल्टी सुटआउटमा ५(४ ले पराजित गर्दै लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।

एनफिल्डमा भएको रोमान्चक खेलमा निर्धारित समय ५(५ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा लिभरपुलले बाजी मार्यो । पेनाल्टीमा डानियल सेबालोस चुक्दा आर्सनल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

पेनाल्टीमा आर्सनलका लागि हेक्टर बर्लिन,माटियो गुएन्डोजी, गाब्रियल मार्टिनेली र ऐन्स्ले मैट्ल्याण्ड निल्सले गोल गरेका थिए । लिभरपुलका लागि पेनाल्टीमा जेम्स मिल्नर, एडम लालना, रिहान ब्रेव्स्टर, डिभोक ओरिगी र कुर्टिस जोन्सले गोल गरेका थिए । पेनाल्टीअघि खेलको छैटौं मिनेटमा मुस्ताफीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता बनाएको थियो ।

११ औं मिनेटमा लुकास ट्रोएरिराले गोल गर्दै आर्सनललाई १(१ गोलको बराबरीमा ल्याए । खेलको २६ औं र ३५ औं मिनेटमा मार्टिनेलीले दुई गोल गर्दै आर्सनललाई ३(१ को अग्रता दिलाए । ४३ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३(२ को स्थितिमा ल्याए ।

खेलको ५४ औं मिनेटमा मैट्ल्याण्ड निल्सले गोल गर्दा आर्सनल ४(२ ले अघि रह्यो । ५८ औं मिनेटमा लिभरपुलका एलेक्स चेम्बरलिनले गोल गर्दै खेल ४(३ मा ल्याए । ६२ औं मिनेटमा ओरिगीले गोल गर्दा लिभरपुलले ४(४ को बराबरी बनाउन सफल भयो ।

खेलको ७० औं मिनेटमा जोसेप विलकले गोल गर्दै आर्सनललाई ५(४ को अग्रता दिलाए । तर, खेलको अन्तिम समयमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ५(५ गोलको बराबरीमा फर्काएका थिए ।