कृषि

चाडपर्व संगै आकासिएको तरकारीको मुल्य भाउ केहि सस्तोः उपभोक्तालाई राहत

काठमाण्डौ । हिन्दुहरुको महान दुई ठुला चाडपर्वका बेला आकासियको तरकारीको बजारभाउ केहि सस्तो भएको छ । तिहार र दशैं जस्ता ठुला चाडपर्वकाबेला काठमाडौंमा तरकारी किन्नै नसकिने गरी मुल्य चर्किपछि उपभोक्ता मारमा परेका थिए ।

तर हिजो देखी अर्काे ठुलो पर्व तिहार सकिसंगै तरकारीको बजारभा सस्तो हुँदै गएपछि केहि राहत महसुस गरीएको छ । चाडपर्वका वेला काठमाडौंमा धेरै तरकारी खपत हुने लगाएत तरकारी बजारमा हुने कालो बजारीका कारण उपभोक्ताहरु महंगो मुल्यमा तरकारी खान वाध्य भएको थिए ।

आज काठमाडौंको थोक बजार कालिमाटिमा हरेक तरकारीको भाउ घटेको छ । तरकारीलाई स्वादिष्ट बनाउने हरियो धनिया सस्तीएको छ । किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर हरियो धनियाँ बुधबार किलोको ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मंगलबार हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो । यस्तै गान्टे मुलाको भाउ पनि किलोमा ५० रुपैयाँले घटेर किलोको १ सय ५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । भाउ घटेपछि पाते च्याउ किलोको १ सय ९० रुपैयाँ, डल्ले च्याउ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ ।

अरु तरकारीको भाउ भने मंगलबारको जस्तै छ । बजारमा बुधबार रातो भारतीय आलु किलोको ५० रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मूल्य तोकिएको समितिले जनाएको छ ।