अन्तर्राष्ट्रिय

तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत

एजेन्सी । यूरोपेली संघ इयूका २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन ब्रेक्जिट को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् । इयूले बेलायतको अनुरोधमा आगामी बर्षको जनवरी ३१ मा ब्रेक्जिटका लागि मिति तय गरेको सोमबार टस्कले बताए ।

इयूबाट बेलायतको बहिर्गमनका लागि जनवरी ३१ सम्मका लागि मिति तय गरेको छ तर यदि बेलायती संसदले ब्रसेल्ससँग प्रधानमन्त्री बोरिस जोनसनले गरेको सम्झौतालाई अनुमोदन गरेमा तोकिएको समय अघि नै पनि बहिर्गमनका लागि सहमत जनाउने छन् । “इयूका २७ ले बेलायतको अनुरोधमा सन् २०२० को जनवरी ३१ सम्मका लागि ब्रेक्जिटको समय थप गर्न सहमत भएका छन्,” टस्कले भने ।

उनले थपे, “सम्बन्धित मुलुकका राजदूतहरूको ब्रसेल्समा हुने भेटपछि सम्भवतः यो निर्णयलाई लिखित प्रक्रियामार्फत् औपचारिकता दिइने छ ।”

एएफपीले इयूसम्वद्ध स्रोतबाट प्राप्त गरेको सहमति पत्र अनुसार बेलायती प्रधानमन्त्री जोनसनले त्यहाँको संसदलाई मैत्रीपूर्ण बहिर्गमनका लागि आगामी बर्षअघि नलाग्दै अर्थात् नोभेम्बर ३० वा डिसेम्बर ३१ मा गनए विश्वास दिलाने छन् । बहिर्गमनका लागि यस पहिले तय भएको अन्तिम मिति अक्टोबर ३१ आउनुभन्दा करिब ९० घण्टा पहिले ब्रेक्जिटको मिति थप भएको सूचना बाहिरिएको हो ।