खेलकुद

राजीनामाबारे पारस खड्काद्वारा क्यानलाई जानकारी, कप्तानकै रूपमा फर्कने सम्भावना न्यून

कठमाडौं । नेपाली क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएको पारस खड्काको बारेमा चाँडै नै नेपाल क्रिकेट संघ क्यानले छिनोफानो गर्ने महासचिव अशोकनाथ प्याकुरेलले बताएका छन् ।

सामाजिक सञ्जालमा आफूले कप्तानी पद त्यागेको घोषणा गरेपछि सबैलाई स्तब्ध बनाएका पारसको आधिकारिक भनाइ क्यानमा नआएको भन्दै नेपाल क्रिकेट संघले राजीनामाका बारेमा प्रस्ट पार्न भन्दै पत्र पठाएको थियो ।

त्यसको जवाफमा पारसले इमेलमार्फत क्यानलाई आफ्नो राजीनामाका बारेमा सामाजिक सञ्जालमा आएको कुरा सही भएको उल्लेख गरेका छन् । प्याकुरेलले इमेलबाट पारसले आइतबार क्यानलाई आफ्नो राजीनामाका बारेमा जानकारी दिएको बताए ।

पारसले क्यानलाई लिखित जवाफ पठाएपछि अब उनी कप्तानमा फर्कने सम्भावना लगभग कठिन भएको पनि महासचिव प्याकुरेलले बताए । उनले आफ्नो चाहनाअनुसार कप्तानी पदबाट राजीनामा दिएको र अब क्यानले यसको प्रक्रियाका बारेमा छलफल गरेर निष्कर्ष निकाल्ने बताए ।

उनले तत्काल एमसीसीविरुद्धको सिरिजका लागि आपतकालीन विकल्प खोज्ने र त्यसपछि फेरि क्यानले कप्तानका लागि दीर्घकालीन निष्कर्ष निकाल्ने बताए । पारसले राजीनामा दिएपछि अबको कप्तान को भन्ने धेरै प्रश्नहरु उठिरहेका बेला अहिलेको विकल्पका रुपमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर नै पहिलो रोजाइमा पर्ने सम्भावना छ ।

नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल आउनेछ ।