लुम्बिनी

गोप्य सूचनाको आधारमा अस्पतालबाट नौ जुवाडे पक्राउ

बाँके । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ ।

पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताए। तिहारमा ठूला जुवाडे बढी सक्रिय हुने भएकाले त्यसविरुद्ध अभियान चलाइएको उनको भनाइ छ ।