समाचार

आगालागि हुँदा लाखौं को धनमाल जलेर नष्टः सावधानी अपनाउन अनुरोध

सोलुखुम्बु । सोलुखुम्बुमा एक घरमा भएको आगालागिमा करोडौंको क्षती भएको छ । लक्ष्मीपुजाका लागि बालिएको बत्तिबाट सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानकुमाल गाउँको एक घरमा आगलागी भएको हो ।

आईतबार साँझ ७ बजेर ४५ मिनेटमा लक्ष्मीपुजाका लागि बालिएको बत्तिबाट नेचासल्यान गाउँपालिका २ का वडा सदस्य रुपा नेवारको घरको कोठाबाट आगो सल्किदा पुजाको लागि राखिएको डेढ लाख नगद रूपैयाँ, ५ तोला सुन, १० तोलाचाँदी, केही मानासिक्का, खाद्यान्न सहित अनुमानित ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

आगलागीबाट ढुंगामाटोले बनेको तिनतले घरको दोस्रो तलाको एक कोठा पुर्ण रुपले जलेको छ। घटनालगत्तै अस्थायी प्रहरी चौकी सल्यानबाट खटिएका प्रहरी र स्थानीयको प्रयासले आगो नियन्त्रणमा लिएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

हप्तामै ३ आगलागी, करोडौको क्षति

सल्यानका नेवार सहितको सोलुखुम्बुमा एक हप्ताकै अवधिमा ३ घरमा आगलागी भएको छ। कात्तिक ३ गते राती नेचासल्यान गाउँपालिका १ सल्यान ख्याम्पुका चन्द्र प्रकाश कोईरालाको ३ तले आरसीसी घरमा आगलागीबाट नष्ट भएको छ।

त्यस्तै, कात्तिक ७ गते सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको गन्जेडाँडाका खड्ग बहादुर खड्काको घरमा पनि आगलागी भएको छ। ख्याम्पुको आगोलागीबाट ९८ लाख रूपैयाँ र तिङलाको आगलागीबाट सुन, नगद, लत्ताकपडा, काठपात गरि ८५ लाख बराबरको क्षति भएको प्रहरी मुचुल्कामा उल्लेख गरिएको छ।

सावधानी अपनाउन अनुरोध

तिहारको अवसरमा हरेक घरमा धेरै बत्ति बालिने भएकाले आगलागी हुने संभावना पनि बढि हुने गर्दछ। घरमा बालिने दियो, मैनबत्तिलगायतका उज्यालो सामाग्री बाल्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

विद्युतीय बत्तिका लागि पनि विद्युतको प्रयोग बढि हुने भएकाले व्यवस्थित रुपमा तिहार मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।