आर्थिक

नौ अर्ब घाटाको प्राधिकरण सात अर्ब नाफामाः कुलमान घिसिङ

बनेपा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उनले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गरे । आगामी वर्ष दश अर्ब नाफामा पु¥याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

“हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ ।” उनले भने, “अब विद्युत् अपुगभन्दा पनि पर्र्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्न चाहन्छु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उनले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरे । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उनले बताए ।

उनले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पु¥याउने अभियानमा लागेको विद्युत् प्राधिकरण अझैपनि ४० प्रतिशत विद्युत् सेवा पु¥याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लालाई आगामी दुई वर्षमा सत्प्रतिशत विद्युत् सेवा पु¥याउने बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारणपछि गर्ने काममा निकै समस्या निम्तने गरेको बताए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेशश्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।