सूचना प्रविधि

डिजिटल अर्थतन्त्रको आधार तयार पार्दै सरकार

काठमाडौं । ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारको सवलीकरण गर्ने लक्ष्यका साथ सरकारले डिजिटल नेपाल फ्रेमवर्कका लागि आठ वटा क्षेत्रलाई समावेश गरेको छ । नागरिकलाई सरल र सहजरुपमा सार्वजनिक सेवा दिन र दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार गरी आठ वटा प्रमुख क्षेत्र छनोट गरिएका छ ।

सो फ्रेमवर्कले ती क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ जम्मा ८० वटा डिजिटल पहलसहितको कार्ययोजना समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सम्बन्धी कार्यक्रमले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्य हासिल गरी आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस्तै प्रविधिको प्रयोगबाट उत्पादन लागत कम गर्ने उद्देश्यसहित डिजिटल नेपाल फ्रेमवर्कले सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारका सेवा तथा कारोवार विद्युतीय माध्यमबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ । ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । यही कात्तिक ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त फ्रेमवर्क स्वीकृत गरेको हो ।

स्वीकृत फ्रेमवर्कले तथ्याङ्कको उत्पादन, प्रशोधन र वितरणको लागत कम गरी पहुँच सुनिश्चित गर्ने सुशासन, विकास र समृद्धि हासिल गर्न नीतिगत तथा प्रणालीगत स्थिरता प्राप्तिका लागि योगदान गर्ने अपेक्षा गरिएको छ ।

तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समयसापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले राष्ट्रिय विकास र समृद्धिमा केन्द्रित भएको जनाएको छ ।

सन् २०२२ सम्ममा विकासशील राष्ट्र तथा सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी मध्यम आयको मुलुक बन्ने लक्ष्यतर्फ अग्रसर रहेको, देशका सामु रहेका चुनौतीलाई सम्बोधन गर्ने बृहत् उद्देश्यका साथ ‘समृद्ध नेपाल,सुखी नेपाली’ को आकांक्षा हासिल गर्न अघि बढिरहेको र त्यसमा प्रविधिका आधारित ज्ञान र लगानी दुवै अपरिहार्य रहेको उल्लेख गरेको छ ।

सरकारको उक्त आकाक्षाले पर्यटन क्षेत्रको विकास गर्दै क्षमता अभिवृद्धि गर्ने जल, यातायात, ऊर्जाक्षेत्र र सूचना प्रविधि पूर्वाधार निर्माणमा तीव्र जोड दिने लक्ष्य राखिएको छ । यस्तै उत्पादन र उत्पादकत्वमा अभिवृद्धि, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था, गरीबी, निरक्षरता र बेरोजगारीको अन्त्य र युवा प्रतिभाको विदेश पलायनमा उल्लेख्य कमी ल्याउनेजस्ता प्रमुख क्षेत्र समेटेको छ ।

सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा तथा कारोवारलाई विद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्न डिजिटल नेपाल फ्रेमवर्कले डिजिटल प्रविधिको व्यापक उपयोगमार्फत मुलुकमा सुशासन कायम गरी सार्वजनिक सेवा प्रवाह, समाज तथा अर्थतन्त्रका बृहत्तर आयामको रुपान्तरण गर्नेछ ।