आर्थिक

तनहुँमा खुल्यो सुविधासम्पन्न पेट्रोलपम्प सञ्चालनमा

तनहुँ । बन्दीपुर गाउँपालिका–१ डुम्रे चिसापानीमा सुविधासम्पन्न नयाँ पेट्रोलपम्प आजदेखि सञ्चालनमा ल्याइएको छ । डुम्रेका व्यवसायी गोपाल अधिकारीले करीब रु साढे छ करोडको लागतमा अत्याधुनिक सुविधासहितको कुावेर आयल सप्लायर्स र केओएस रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

उक्त पम्पको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा उनले फराकिलो स्थान, सुन्दर सजावट तथा एक पटक धेरै सवारी साधनले पेट्रोलियम पद्धार्थ लिन सक्ने क्षमताको देख्दा पृथ्वीराजमार्गमा सबैभन्दा राम्रो लागेको बताए ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले तनहुँ, लमजुङ, गोरखा, मनाङको व्यापारिक केन्द्र डुम्रेबजार भएको र पर्यटकीयस्थल पनि भएकाले प्रट्रोलियम पद्धार्थका लागि यस्ता सुविधासम्पन्न पम्प स्थापना गर्नु सबैका लागि सहज र खुशीको कुरा भएको बताए ।

पम्पका लागि जमीनबाहेक रु छ करोड लगानी गरिएको सञ्चालक गोपाल अधिकारीले जानकारी दिए । उक्त पम्प छ रोपनी आठ आना जग्गा क्षेत्रफलमा निर्माण गरिएको उनले बताए । सञ्चालक अधिकारीका अनुसार दैनिक एक लाख लिटर बिक्री गर्न सक्ने क्षमता भएको र एकै पटक आठ सवारी साधनमा डिजेल तथा पेट्रोल राख्ने सुविधा भएको जानकारी दिए ।