शिक्षा

शिक्षामा एकरुपता ल्याउन एकै प्रकारको विद्यालय पोशाक

बेझाङ । शिक्षामा एकरुपता ल्याउन पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक लगाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका छन् ।

गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै प्रकारको विद्यालय पोशाक प्रयोग गराउन रु १८ लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । “शिक्षामा फरक पहिचान बनाउन, आपसी सद्भाव बढाउन, विद्यालयबीचको पोशाकमा हुने विभेद अन्त्य गरी एकरुपता ल्याउन शैक्षिक क्षेत्रलाई फराकिलो बनाउन यो अभियान थालनी गरेका हौँ”, उनले भने ।

गाउँपालिकाभित्र रहेका सबै विद्यालयमा एकै प्रकारको रङ लगाउने योजना पनि रहेको छ । यस सम्बन्धमा भने प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम गर्ने योजना रहेको अध्यक्ष थापाले बताएका छन् । गाउँपालिकाभित्रका विद्यालयमा खरानी रङको सर्ट र गाढा निलो रङको पाइन्ट विद्यालय पोशाकको रुपमा तय गरिएको छ ।

गाउँपालिकाको सहयोगमा पूर्वखोला गाउँपालिकाको वडा नं ३ मा रहेको जनउज्ज्वल आधारभूत विद्यालयका १०३ विद्यार्थीलाई एकै प्रकारको पोशाक वितरण गरेको प्रधानाध्यापक कृष्णप्रसाद पङ्गेनीले बताएका छन् । “एकै प्रकारको पोशाक बनाएपछि जहाँ गए पनि पूर्वखोलाको विद्यार्थी भनेर पहिचान हुनेछ, शैक्षिक गुणस्तरमा सहयोग पुग्ने आशा लिइएको छ”, उनले भने ।

अन्य विद्यालयले पनि गाउँपालिका सहयोगमा विद्यालय कोषको केही रकम थप गरेर वितरण गर्ने तयारी गरिरहेका छन् । गाउँपालिकाले शैक्षिक क्षेत्रमा गुणस्तर बढाउन, संस्थागत र सामुदायिक विद्यालय बीचको अन्तर हटाउन यसै शैक्षिकसत्रदेखि पाँच संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा गाँभेर पठनपाठन सञ्चालन गरिरहेको छ ।