समाचार

डोजरले महिला हुत्याउने चालकविरुद्ध गरियो ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

बैतडी । डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । दशरथचन्द नगरपालिका–९ मा स्थानीयवासी गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो ।

महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिएका छन् । “मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ ।”

वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमबार झडप भएको थियो । झडपका बेला सडक रोक्ने पक्षकी गौरीलाई डोजरले हुत्याएको थियो । डोजरले हुत्याउँदा गौरी गम्भीर घाइते हुनुभएको छ । उहाँको कोहलपुरमा उपचार भइरहेको छ ।

यस्तै झडपमा ढुङ्गा हानाहान पनि भएको थियो । ढुङ्गा हानाहान हुँदा दुवै पक्षका अरु सात समान्य घाइते भएका थिए । विवाद भएको स्थान गुठीको जमीन रहेको भन्दै यसअघि पनि विवाद आएको थियो । तिहारपछि विवाद समाधान गरी सडक खन्ने सहमति भएको भए पनि एक्कासी सडक निर्माण गर्न खोज्दा घटना भएको हो ।

सडक निर्माणका विषयमा भएको विवादका बारेमा दुवै पक्षसँग छलफल गरेर टुङ्गोमा पुग्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।