राजनीति

तरुण दल बिबादः महासचिव शाहीले पनि १० गते चियापान आयोजना गर्ने, कार्यकर्ता चिन्तित

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले कात्तिक १० गते दुई भिन्नाभिन्नै स्थापना दिवश मनाउने निर्णय गरेका छन् । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई र कोशाध्यक्ष विद्वान गुरुगंको बैठकले कात्तिक १० गते तरुण दल स्थापनाको ६६ बर्ष पुगेर ६७ बर्ष लागेको उपलक्षमा बिभिन्न कार्यक्रम गर्ने भनि निर्णय गरेपनि पुनः महासचिव भुपेन्द्रजंग शाहीले उपत्यका भेलाको निर्णय भन्दै सोहीदिन बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

अध्यक्ष बस्नेतले महासचिवसहित तरुण दलको साधारण सदस्यबाट निष्कासन गरेको केही घण्टामा नै अध्यक्ष बस्नेतलाई नै साधारण सदस्यबाट हटाएपछि विवाद भएको नेपाल तरुण दलमा पछिल्लो समय ठूलो विवाद चुलिदै गएको छ । अध्यक्ष बस्नेतले सोहीदिन पार्टी केन्द्रीय कार्यालयमा बिभिन्न कार्यक्रमहरु राखेका छन् भने महासचिव शाहीले उक्त चियापान कार्यक्रमका लागि स्थान उपलब्ध गराईदिन पार्टी केन्द्रीय कार्यालयलाई चिठी लेखेका छन् ।

अध्यक्ष बस्नेतले सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा चियापान लगायतका कार्यक्रम गर्ने भनी प्रचारप्रसार लगायतका तयारी तीब्र रुपमा गरेपनि महासचिव शाहीले प्रमुख अतिथी को राख्ने भन्ने खुलाएका छैनन् । महासचिव शाहीले ४ वटा कार्यक्रम गर्न भन्दै ७७ वटै जिल्लालाई परिपत्र गरेका छन् । अध्यक्ष बस्नेतले भने परिपत्र गरेका छैनन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा हार ब्यहोनुपरेको काँग्रेस र त्यसको सशक्त भातृसंस्था तरुण दलमा हुने यस्तो बिबादले काँग्रेसलाई घाटामात्र गर्दैन बरु दलको बदनाम तल्लो तहसम्म हुने काँग्रेस कार्यकर्ताहरुको ठहर छ ।

सभापति निकट मानिने अध्यक्ष बस्नेतले कार्यक्रमको लागि हल बुक गरिसकेका छन्, सम्भावित मुडभेड हुन नदिन समेतलाई मध्यनजर गर्दै विवाद सदहमा आउनाले पार्टीको छवि विग्रन नदिन पार्टीले हस्तक्षेप गर्नुपर्ने विचार उनीहरुको छ । पोखरा महाधिवेशनबाट सहमतीम जम्मा ४ जनाको केन्द्रीय समिति बनेको भएपनि गुटबन्दीका कारण भातृसंस्थामा बिबाद हुनु राम्रो नभएको कार्यकर्ताहरुको तर्क छ । कात्तिक ७ गते बस्ने काँग्रेस केन्द्रीय समितिले तरुण दल लगायतका भातृसंस्थाका बिषयमा महत्वपूर्ण निर्णय लिन सक्ने राजनीतिक बृतमा अनुमान लगाईएको छ ।