राजनीति

ओली सरकारलाई भ्रष्टाचारी/बलात्कारी भन्दै शर्तसहित विप्लव नेकपा वार्तामा बस्न तयार (विज्ञप्तीसहित)

काठमाण्डौ । नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा सरकारसँग वार्तामा बस्न तयार रहेको जनाएको छ । सरकारले प्रतिबन्ध लगाउदै उक्त पार्टीका नेता कार्यकर्ता पक्रा गर्न थालेको थियो । दागं, काठमाण्डौ लगायतका देशभरका बिभिन्न जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउमा परेपछि पार्टी कमजोर भयो भनेर मिडियामा आएपनि उक्त पार्टीले आफू बलियो भएको दाबी गरेको छ । विप्लव नेकपाले आफूहरु सरकारले आफ्ना नेता कार्यकर्ता बिनाशर्त रिहाई लगायत तीन माग पुरा गरे सरकारसँग वार्तामा बस्न तयार रहेको बताउदै बैठक समापन भएको जनाईएको छ । पार्टीको केन्द्रिय समिति बैठक सकिएको एक हप्ता नबित्दै पार्टीको राप्ति ब्युरो बैठकमा प्रहरीले घेरा हालेर पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेताहरु गिरफ्तार गरेपछि निर्णय सार्बजनिक गर्न केही ढिलाई भएको उक्त पार्टी स्रोतको दाबी छ । बैठकपछि विप्लव नेकपाले जारी गरेको विज्ञप्तीः

१) बैठकको शुभारम्भपछि मानव जातिको मुक्ति एवम् वैज्ञानिक समाजवाद–साम्यवादका लागि सञ्चालित एकीकृत जनक्रान्तिमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरू कमरेड कुमार पौडेल, नीरकुमार राई ‘सुप्रिम’, गोकुल राना ‘महान’, रामकुमार श्रेष्ठ, सनराइज, धनराज बटाला, महान् जनयुद्धमा सहादत प्राप्त गर्ने नौ हजार सहिद, नेपाली क्रान्ति र विश्वक्रान्तिका महान् सहिदहरूप्रति १ मिनेट मौनधारण गरियो । क्रान्तिका बेपत्ता योद्धा तथा घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गरियो । साथै उहाँहरूका सपना पूरा गरिछोड्ने सङ्कल्प गरियो ।

२) बैठकमा सबै केन्द्रीय सदस्य कमरेडहरूले आआफ्नो कार्यक्षेत्रको रिपोर्ट विस्तारमा राख्नुभयो । रिपोर्टमा उहाँहरूले सामाजिक दलाल सरकारको प्रतिबन्ध, हत्या अप्रेसन, गिरफ्तारी र केही गम्भीर क्षतिका बाबजुद पार्टी जनताका बीचमा स्थापित र अनुशासित बन्दै गएको, प्रतिरोध सङ्घर्षमा जनताको जाथसहयोग बढिरहेको, मित्रशक्तिहरूसँगको सहकार्य फैलिँदै गएको, जनताको आशा पार्टीतिर बढ्दै गएको, विभिन्न पार्टीहरूबाट पार्टीमा सहभागी बन्ने प्रक्रिया चलिरहेको, नयाँ पूर्णकालीन कार्यकर्ता बढ्दै गएका, जनमुक्ति सेनामा भर्ती बढिरहेको, विभिन्न विचलनकारी प्रवृत्तिबाट पार्टी मुक्त हुँदै गएको जानकारी गराउनुभयो । रिपोर्टका क्रममा सचिवालयका कमरेडहरू प्रकाण्ड, कञ्चन र विषमले पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाको वैज्ञानिकता र महत्व, पार्टीको सफलताको सम्भावना, नेतृत्वको विकास र पार्टीको क्रान्तिकारी चरित्रको महत्वका बारेमा गहन रूपले प्रकाश पार्नुभयो । महासचिवले रिपोर्टको संश्लेषण गर्ने क्रममा केपी सरकारले पार्टीमाथि प्रतिबन्ध थोपर्दा त्यसका विरुद्ध बोल्ने, सङ्घर्षमा साथ दिने देशभित्र र देशबाहिरका सबै क्रान्तिकारी एवम् मित्रशक्तिहरूलाई धन्यवाद दिँदै भविष्यमा सहकार्यको विश्वास व्यक्त गर्नुभयो ।

३) महासचिव विप्लवले आठौँ पूर्ण बैठकका लागि तयार गरेको “आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासिवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ” नामक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावमाथि पूर्ण जनवादी वातावरणका साथ दुई दिनसम्म छलफल गरेर आवश्यक सल्लाह–सुझावसहित एकमतले पारित गरियो ।

४) राजनीतिक प्रतिवेदनमा राष्ट्रिय परिस्थितिभित्र राजनीतिक रूपले केपी सरकारको फासिवादीकरण, फासिवादी दमन, प्रतिबन्ध, दलालीकरण, सरकारी असफलता र सङ्कट, एकीकृत जनक्रान्तिले वैज्ञानिकता प्रतिरोध ध्रुवीकरण र मित्रशक्तिहरूको मोर्चाबन्दीको आवश्यकता, वैज्ञानिक समाजवादको विकल्पबारे विश्लेषण गरिएको छ ।

सुखी नेपाली र समृद्ध नेपाल’ को नारामा गठन भएको केपी सरकार बनेदेखि नै असफलता भोग्दै सङ्कटको चुलीमा पुगेको छ । हाल जनता र देशको अवस्था ‘दुःखी नेपाली र गरिव नेपाल’ मा बदलिएको छ । यसको पछाडि मुख्य रूपले केपी सरकारको दलालीकरण फासिवादी हस्तक्षेप दोषी रहेको निष्कर्ष निकालिएको छ ।

दलालीकरणका कारण नेपालको स्वाधीनता र सार्वभौमिकता दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ भने फासिवादी हस्तक्षेपका कारण जनताका राजनीतिक, मौलिक अधिकारहरू समाप्त हुँदै गएका छन् । हिन्दु राष्ट्रको चर्चा, हिन्दप्रशान्त रणनीति, सङ्घीयता र क्रिस्चियनीकरण, बीआरआई परियोजनाहरू यसैका उपज हुन् । त्यसगरी पत्रकार, मानअधिकार, युवा, विद्यार्थी, मजदुर, विभिन्न व्यवसायीहरूमाथिको बर्बर दमन, गिरफ्तारी र हाम्रो पार्टीका नेता–कार्यकर्ताको हत्या, गिरफ्तारी, जेलजीवन हुँदै पार्टीभित्र नै हठात प्रतिबन्ध यसैका परिणाम हुन् ।

राजनीतिक रूपले असफल बन्दै गएको सरकार राष्ट्रघात, एनसेलकाण्ड, ठूलो जहाजकाण्ड, सुनकाण्ड, ललिता निवासकाण्ड, चिनीकाण्ड, अनेकौँ हत्याकाण्ड, गोलीकाण्ड, गैरकानुनी गिरफ्तारी जेल–हिरासत, बुढीगण्डकीकाण्ड, बलात्कारकाण्ड, अनगिन्ती भ्रष्टाचार, भूमाफिया, मानवतस्करी, मेडिकल माफिया, कालोबजारीलगायत असत्य अपराधमा चुर्लुम्म डुब्न पुगेको छ ।

राजनीतिमा दलालीकरण र फासिवादी दमनको भण्डाफोर र प्रतिरोध आजको मुख्य आवश्यकता बनेको निचोड निकाल्दै पार्टीले आउँदो योजनाको केन्द्रभागमा यसैलाई राख्नेमा जोड दिएको छ । यसका लागि सबै देशभक्त, वामपन्थी क्रान्तिकारी मित्र शक्तिहरूसँग दलालीकरण तथा फासिवादीका विरुद्ध कार्यगत एकता र संयुक्त मोर्चा गरेर राजनीतिक संयुक्त सङ्घर्ष अगाडि बढाउन चौतर्फी संवाद र वार्ता गर्ने र कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय लिएको छ ।

केपी सरकार राजनीतिक रूपले असफल हुँदै जाँदा यसका विकल्पमा अनेकौँ चर्चा र विश्लेषणहरू भइरहेका छन् । केहीले केपी सरकारको परिवर्तनमा सीमित गर्न खोजेका छन् भने केहीले राजतन्त्रको पुरस्र्थापनाको चर्चा गरेका छन् । तर हाम्रो दृष्टिमा नेपाली जनताले अनेकौँ सङ्घर्ष, क्रान्ति, जनयुद्ध र बलिदान गर्दै यहाँसम्म अभ्यास गरेका र प्रयोगमा पूर्णतः असफल साबित भएका कुनै पनि शक्ति र व्यवस्था सही निकास हुन सक्दैनन् । यसको वैज्ञानिक समाधान भनेको वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्छ ।

सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ ।दलालीकरणका कारण देशको अर्थतन्त्र दिन–प्रतिदिन अधोगतितिर लागेको छ । दलाल पुँजीवाद सत्तामा हावी हुन पुग्दा राष्ट्रिय उत्पादन नगन्य हुँदै गएर व्यापारघाटा खर्बौँ पुगेको छ । देश पूरै विप्रेषणमा अडिन बाध्य भएको छ । देशको अर्थसम्बन्ध विदेशी बजारमा परिणत भएको छ । महँगी र करले जनताको जीवन सङ्कटपूर्ण बन्दै गएको छ । सरकारकै संरक्षणमा भ्रष्टाचार डढेलोझैँ फैलिएकाले कुनै पनि बेला देशको अर्थतन्त्र टाटपल्टिनेतिर गइरहेको विश्लेषण गरिएको छ ।

५) सङ्घर्षका दृष्टिले केपीको सामाजिक फासिवाद र दलालीकरणका विरुद्ध मोर्चा बन्नु र देशलाई जनवादी राजनीतिक अधिकार एवम् स्वाधीनताको धारमा उभ्याउनु आजको प्रमुख आवश्यकता बनेको निष्कर्ष निकालियो । यसका लागि सामाजिक फासिवाद, दलालीकरण र सरकारी भ्रष्टाचारका विरुद्ध सम्पूर्ण देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबन्दी गर्ने र संयुक्त सङ्घर्ष सञ्चालन गर्ने निर्णय गरियो ।

विश्वमा उत्तरसाम्राज्यवादी शोषण, उत्पीडन एवम् साम्राज्यवादी हस्तक्षेपका कारण दैनिक हजारौँ नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ । कुनै पनि अन्यायपूर्ण युद्धको भण्डाफोर गर्दै साम्राज्यवादी अतिक्रमणका विरुद्ध उत्पीडित राष्ट्रका जनताले पचाउने हरसङ्घर्षलाई समर्थन गर्ने साथै पुँजीवादी सत्ताका विरुद्ध चलेका सबै क्रान्तिकारी विद्रोहलाई समर्थन गर्ने निर्णय लिइयो ।

अमेरिकी हस्तक्षेपका कारण इरान, जनवादी गणतन्त्र कोरियामा पैदा भएका तनावको विरोध गर्ने, सिरिया, अफगानिस्तान, इराकमा भइरहेका नरसंहारको विरोध गर्ने, भारतीय साम्राज्यवादले कास्मिरका जनताको विशेष अधिकार खोसेर लादेको भारतीय सर्वसत्ताको विरोध गर्ने साथै अमेरिकाले भेनेजयुएलाको सार्वभौमिकता मिचेर चुनाव जितेर आएका राष्ट्रपति मडुरोको सट्टा राष्ट्रपतिको चुनाव नै नलडेका विपक्षी नेता गुएडोलाई दिएको राष्ट्रपतिको मान्यताको विरोध गर्ने निर्णय गरेको छ ।
देशको गम्भीर परिस्थितिबाट फाइदा उठाउँदै अमेरिकाले चीनलाई घेर्ने, भारतलाई दबाबमा राख्न र नेपाललाई सैन्य अखडा बनाउनका लागि अगाडि सारेको हिन्द–प्रशान्त राजनीति देशको सार्वभौमिकता र स्वाधीनताका लागि भयानक भएको निष्कर्ष निकाल्दै उक्त रणनीतिका विरुद्ध आमजनताको बलमा प्रतिरोध गर्नुपर्ने निर्णय लिइयो ।
देशमा सरकारी संरक्षणमै खडेरीको डडेलोझैँ फैलिँदै गएका लागूपदार्थको व्यापार र सेवन, देहव्यापार र वेश्यावृत्ति, विषालु रक्सीको व्यापार, बलात्कार, लुटपाट, धर्म व्यापारका विरुद्ध सांस्कृतिक एवम् सामाजिक आन्दोलन, सङ्घर्षहरू सञ्चालन आवश्यक रहेको निष्कर्ष निकालियो । युवापिँढीलाई ध्वस्त पार्दै लगेको लागूपदार्थका विरुद्ध नेपाली प्रकृतिको ‘अफिम युद्ध’ धर्म परिवर्तनका नाममा देखापरेको धर्म–राजनीतिक हस्तक्षेपका विरुद्ध भौतिकवादी जागरण साथै सामाजिक सुरक्षा आन्दोलन सञ्चालन गर्ने निर्णय लिइयो ।

६) सङ्गठनात्मक रूपले नेपाल कम्युनिस्ट पार्टीको जन्म माओवादी पार्टीको खरानीबाट भएको निष्कर्ष निकाल्दै यसको गठन, पुनर्गठन, शुद्धीकरण र सुदृढीकरण निरन्तर आवश्यक भएको संश्लेषण गरियो । सङ्गठनका क्षेत्रमा देखापरेका आत्मसुरक्षावाद, आत्मसमर्पणवाद, समन्वयवाद, अर्थवादका विरुद्ध निर्मम सङ्घर्ष गर्दै हालै सुरु गरिएको पार्टी शुद्धीकरण अभियान वस्तुवादी एवम् वैज्ञानिक भएको, यसले पार्टीलाई सुदृढ, गतिशील, सर्वहारा वर्गीय, जनउत्तरदायी, एकीकृत जनक्रान्तिअनुरूपको पार्टी बनाउन मद्दत गरेको निचोड निकाल्दै यसलाई पार्टीका सम्पूर्ण क्षेत्रहरू तल्ला कमिटी, जनसेना, जवस, मोर्चा, विभागहरूमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय गरियो । पार्टी शुद्धीकरणलाई जोड दिने क्रममा राज्यको नियन्त्रणमा परेका समयमा पार्टी नीतिविपरीत जनतामा गलत समाचार पुग्ने गरी आत्मसमर्पण गर्ने, समन्वय गर्ने र चोचोमोचो मिलाएर निस्किने पीबीएम, सीसीएम, आरबीएम, डीसीएमहरूलाई पार्टीबाट आवश्यक कारबाही गर्ने, आत्मालोचना गराउने र कम्युनिस्ट विधिअनुरूप रूपान्तरण गराउने निर्णय गरियो ।त्यसैगरी स्वास्थ्य समस्याका कारण पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाइ भएकाले आफ्नो अवस्थाले दिएअनुसार देश र जनताका लागि काम गर्न सक्ने अनुमति दिँदै कमरेड गुणराज लोहनीलाई केन्द्रीय समितिको जिम्मेवारीबाट बिदाइ दिइयो । पार्टीको विचार योजनामा कार्यरत रहँदा गिरफ्तार परी हालसम्म जेलमा बन्दी हुनुभएका कमरेड सुदर्शन, माइला लामा, प्रज्वलन, बन्धु चन्द, नवीनलगायत सयौँजना कमरेडहरूको शीघ्र रिहाइका लागि राजनीतिक एवम् कानुनी सङ्घर्ष सञ्चालन गर्ने निर्णय पनि गरियो ।

७) केपी सरकारले हाम्रो पार्टीलाई आर्थिक ‘नाकाबन्दी र दमन’ गर्ने नीति लिएको सन्दर्भमा पार्टीले व्यापक भण्डाफोर गर्दै मैत्रीपूर्ण तरिकाले आम नागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चारमहिने आर्थिक अभियान सञ्चालन गर्ने साथै पार्टीका आर्थिक कार्यहरू अगाडि बढाउने गर्ने निर्णय दिइयो ।

८) एकीकृत जनक्रान्तिका सन्दर्भमा आम नागरिकलाई सत्यतथ्य सूचना प्रवाह गर्नका लागि पार्टी प्रकाशनहरू जनक्रान्ति, जनसत्ता, दृष्टिकोण आदिलाई सुव्यवस्थित प्रकारले प्रकाशित गर्ने निर्णय गरिएको छ ।

९) जनतालाई सुदखोर, मिटर ब्याजे, भूमाफिया, मानव तस्कर, ठगहरूले सताइरहेको अवस्थामा जनन्यायालयलाई सक्रिय बनाउने, जनतालाई सुलभ न्याय उपलब्ध गराउने, त्यसैगरी जनताका लागि जनसेवा र जननमुना कार्यलाई पनि निरन्तर अगाडि बढाउने निर्णय गरियो ।

१०) सांस्कृतिक क्षेत्रमा देखा परिरहेका अनेकौँ विकृति र विचलनका विरुद्ध जनवादी कलाकारहरूद्वारा जनवादी सांस्कृतिक कार्यक्रम एवम् साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्ने, जनसांस्कृतिक महासङ्घबाट साहित्यिक कार्यक्रम र सामना परिवारलगायत क्षेत्रीय परिवारहरूबाट सांस्कृतिक अभियानहरू सञ्चालन गर्ने निर्णय गरियो ।

११) आउँदो मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन दिवस भव्यतापूर्वक मनाउनका लागि विभिन्न रचनात्मक कार्यक्रमसहित उत्सव मनाउने साथै माओ दिवस पनि देशव्यापी रूपमा मनाउने निर्णय गरियो ।

१२) अन्त्यमा दलाल पुँजीवादी सत्ता र सामाजिक दलाल सरकारको कडा दमनका बीचमा केन्द्रीय समितिका कमरेडहरूको पूर्ण अनुशासन एवम् जिम्मेवारीबोध, जनताको साथसहयोग र माया एवम् जनमुक्ति सेनाको सुरक्षामा केन्द्रीय समितिको ऐतिहासिक बैठक बस्न सफल भएकोमा खुसी व्यक्त गरियो ।

बैठक सफल पार्न महत्वपूर्ण भूमिका पूरा गर्ने केन्द्रीय समिति, जनसेना र स्वयमसेवकलाई विशेष धन्यवाद दिइयो । बैठकले गरेका सश्लेषण र निर्णयहरू सफलतापूर्वक कार्यान्वयन हुने, सफल कार्यान्वयनले नेपाली जनताको विद्रोह र एकीकृत जनक्रान्तिलाई नयाँ उचाइ प्रदान गर्ने साथै दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको विजयलाई सुनिश्चित गर्ने विश्वासका साथ महासचिव कमरेड विप्लवले केन्द्रीय समितिको आठौँ पूर्ण बैठकको समापन गरे ।