अन्तर्राष्ट्रिय

भारतमा उपनिर्वाचनः महाराष्ट्रमा ५४ र हरियाणामा ६५ प्रतिशत मतदान

एजेन्सी । भारतका दुई राज्यमा सोमबार उपनिर्वाचन भएको छ । हरियाणा र महाराष्ट्र राज्यमा सोमबार विधानसभा निर्वाचन भएको हो । पछिल्लो विवरण अनुसार महाराष्ट्र राज्यमा ५४।५३ प्रतिशत मतदाताले मतदान गरेका छन् भने हरियाणामा ६५ प्रतिशत मतदाता निर्वाचनमा सहभागी भएका छन् ।

महाराष्ट्रको साँझ ५ बजेसम्म र हरियाणामा वेलुका ६ बजेसम्ममा उक्त परिमाणमा मत खसेको थियो । महाराष्ट्र अन्तर्गतको मुम्बई जिल्लामा भने स्थानीय समय अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्ममा ४४ प्रतिशत मतदान भएको छ ।

महाराष्ट्र राज्य अन्तर्गतका २८८ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै मतदान राधानगरीमा भएको छ । अधिकारीहरुले त्यस क्षेत्रमा ७०।८९ प्रतिशत मतदाताले मतदान गरेको तथ्याङ्क सार्वजनिक गरेका छन् । तर सबैभन्दा धेरै मतदान भने उल्लासनगर निर्वाचन क्षेत्रमा भएको छ ।

उल्लासनगरमा मतदाताको सहभागीता निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उल्लासनगरमा बेलुका ५ बजेसम्ममा २६।२७ प्रतिशत मतदाता मात्रै मतदानमा सहभागी भएका छन् । महाराष्ट्रका २८८ र हरियाणाका ९० निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका छ बजेसम्म मतदानको समय तोकिएको थियो ।

सबै निर्वाचन क्षेत्रगरी कुल ४४ सय भन्दा बढी उम्मेदवार रहेका थिए । ती मध्ये हरियाणामा ११ सय ६९ जना र महाराष्ट्रमा ३२ सय ३७ जना रहेका थिए । महाराष्ट्रका मतदातालाई मतदानका लागि राज्यभरी ९६ हजार ६६१ ओटा मतदान केन्द्रहरु तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

महाराष्ट्रमा भारतीय जनता पार्भा जपाले १५० निर्वाचन क्षेत्रमा आफ्नो पार्टीको उम्मेदवार उठाएको छ भने अरु १२४ निर्वाचन क्षेत्रमा शिवसेनाका उम्मेदवारलाई समर्थन गरेको छ । भाजपाले बाँकी निर्वाचन क्षेत्रमा भने अन्य साना पार्टीहरूलाई समर्थन गर्नेगरी उम्मेदवारी नउठाएको नेताहरुले बताएका छन् ।

अर्कोतर्फ भारतीय राष्ट्रिय काँग्रेसले पनि राष्ट्रवादी काँग्रेस पार्टीसँग गठबन्धन गरेर उम्मेदवारहरू चुनावी मैदानमा खडा गरेको छ । यसैगरी हरियाणामा स्थानीय समय अनुसार बेलुका ६ बजेसम्ममा ६५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुले मतदान गर्नेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् । यस राज्यमा सन् २०१४ मा भएको निर्वाचनमा भने ७६।५४ प्रतिशत मतदाताले मतदान गरेका थिए । हरियाणाकै चित्रकोट निर्वाचन क्षेत्रमा यस पटक पनि बेलुका ५ बजेसम्ममा ७४।३९ प्रतिशतले मतदान गरेको अधिकारीहरुले जनाएका छन् ।

माओवादीबाट प्रभावित यस राज्य माओवादीको प्रभाव क्षेत्र हो । आक्रमणमा पर्नसक्ने त्रासले मतदाताहरू मतदानकेन्द्रमा कम गएको हुनसक्ने अनुमान गरिएको विभिन्न भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यस निर्वाचनलाई जम्मु काश्मिरलाई केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको, भारतीय अर्थतन्त्रमा पछिल्लो समय देखिएको मन्दी र बेरोजगारी वृद्धिलगायत प्रति मतदाताको अभिमतका रुपमा पनि हेरिएको छ ।

निर्वाचनमा विपक्षीले किसानहरूको बढ्दो आत्महत्या र बढ्दो बेरोजगारीलाई प्रमुखताका साथ उठाएका थिए भने भाजपा गठबन्धनले धारा ३७० खारेजीको निर्णयलाई मोदी सरकारको सफलताको रूपमा अघि सारेको थियो ।