उर्जा

एघार वर्षपछि गाउँमा बिजुली बल्यो, स्थानीय खुशी

बेझाड । पाल्पाको निस्दी गाउँपालिका–५ को गल्धाफाँट क्षेत्रमा एघार वर्षपछि बिजुली बलेको छ । विद्युतीकरणका लागि काम थालनी भएको ११ वर्षमा बलेपछि गाउँवासी खुशी छन् । स्थानीय लालीगुराँस विद्युत् सहकारीले जिम्मेवारी लिएर विसं २०६५ देखि गाउँमा विद्युत् सेवा सञ्चालनका लागि काम अगाडि बढाइएको थियो ।

सहकारीले दुई वर्ष अघिदेखि तीव्र रुपमा विद्युत् विस्तारको काम गरेपछि आइतवार साँझदेखि गाउँमा बिजुली बत्ती बल्न थालेको छ । बत्तीमुनिको अध्याँरोमा बसेका साविक गल्धा गाविस वडा नं ८ र ९ का २०० घरधुरीमा एकैसाथ बिजुली पुगेपछि गाउँ नै झिलिमिली बनेको छ ।

लामो समयको प्रयासपछि ११ केभीको राष्ट्रिय प्रसारण लाइनबाट गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको सहकारीका अध्यक्ष दुर्गा सोमैले बताए । “ग्रामीण भेग भएकाले जो कसैले पनि जिम्मेवारी लिएर काम गर्न चाहदैनन्, बजारदेखि टाढा रहेको यस क्षेत्रमा स्थानीयको सहयोगमा सहकारीले गाउँमा विद्युत् विस्तारको जिम्मा लिएर काम गरेको हो”, उनले भने ।

विद्युतीकरणका लागि उपभोक्ताबाट प्रतिघरधुरी रु दश हजार रकम उठाइएको छ । वर्षौदेखि टुकीको भरमा जीवन बिताएका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुशी भएको स्थानीय गङ्गा पङ्गेनी बताउछन् ।

यस क्षेत्रमा विद्युत् लाइन नहुँदा पठनपाठन, कुटानी पिसानी, मोबाइल चार्ज गर्न निकै कष्ट भोग्दै आइरहेको उनको भनाइ थियो । अब विद्युत् सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बाल्ने सपना पूरा भएको पङ्गेनीले बताए । यस क्षेत्रमा विद्युत् लाइनको अभावमा विद्यालय, विभिन्न सङ्घसंस्थामा काम गर्न समस्या थियो । सामान्य कामका लागि रामपुर नगरपालिका नै जानुपर्ने समस्या रहेकोमा अब विद्युत् सेवाको शुरुआत भएपछि ठूलो राहत पुग्ने वृहस्पति प्राथमिक विद्यालयका प्रधानाध्यापक विजय शर्माले बताए ।

विद्युत् लाइनको पहुँच नपुगेका निस्दी गाउँपालिकाको वडा नं ३, ४, ५, ६ र ७ वडामा विद्युत् विस्तार गर्ने योजनाअन्तर्गत साविक गल्धा गाविसका ८ र ९ वडामा बत्ती बाल्ने काम सम्पन्न भएको छ । बाँकी वडामा विद्युत् विस्तारको काम तीव्र रुपमा अगाडि बढाइएको छ ।