प्रदेश 2

सप्तरीको राजविराजमा लुकाईराखेको पटाका बरामद

राजविराज । सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा अन्दाजी रु एक लाख ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । बरामद गरिएको उक्त परिणामका पटाकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आठ सयभन्दा बढी बोट गाँजा फडानी

सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी गरिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदेबरसाइन, इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको संयुक्त टोलीले बोदेबरसाइन नगरपालिकाको वडा नं २, ३ र ५ मा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

खेतबारीमा अवैधरूपमा लगाइएको ७०० बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् । यस्तै सप्तरीको पूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोलमा लगाएको १५० गाँजाको बोट पनि प्रहरीले फडानी गरी नष्ट गरिएको छ । उक्त गाँजाको बोटलाई बुद्धिजीवी, स्थानीयवासी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।