खेलकुद

लालनाको गोलमा जोगियो लिभरपुलःयुनाइटेडसँग बराबरी

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा सुरुवाती अग्रता उल्टाएर लिभरपुलले बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८५ औं मिनेटमा एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए । यस्तै खेलको ४४ औं मिनेटमा लिभरपुलका साडियो मानेले गोल गरे पनि भीएआर रिभ्युले त्यसलाई गोलको मान्यता दिएन । मानेले बल कन्ट्रोल गर्दा ह्यान्ड गरेका थिए । जसको कारण उक्त गोलले मान्यता पाएको थिएन ।

युनाइटेडसँग बराबरीमा रोकिएपनि लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । र, लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । बराबरीपछि लिभरपुलले ९ खेलबाट २४ अंक जोडेको छ । अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो । ९ खेलमा १० अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ ।