समाचार

नेकपा सांसद गुरुङलाई साधारण तारिखमा बस्ने आदेश

काठमाण्डौ । जिल्ला अदालत काठमाडौँले सांसद पार्वत गुरुङलाई साधारण तारिखमा बस्ने आदेश दिएको छ । न्यायाधीश पूर्णेश्वर उपाध्यायको इजलासमा आज ज्यान मार्ने उद्योगको मुद्दामा थुनछेक बहसपछि साधारण तारिखमा बस्ने आदेश दिएको अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निवाचित गुरुङविरुद्ध गत वैशाख २९ गते काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए । सांसद गुरुङलाई जिल्ला अदालत काठमाडौँले अदालतमा उपस्थित हुनका लागि ३५ दिने म्याद जारी गरेको थियो । अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आज अदालतमा उपस्थित भएर बयान दिएपछि सो आदेश भएको हो ।

सांसद गुरुङसहित सात जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो । निर्वाचनका समयमा खड्कामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोग लागेको थियो । विसं २०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको र त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै अभियोग किटानी जाहेरीमा उल्लेख छ ।