प्रदेश 1

तीनजना फरार अभियुक्त गोप्य सूचनाको आधारमा प्रहरीद्वारा पक्राउ

गाईघाट । इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए ।

फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार पक्राउ गरिएको प्रहरी प्रमुख बुढामगरले बताए । २०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ ।

तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै केही समयको लागि कैदको फैसला सुनाएको भए पनि ती अभियुक्तहरु फरार रहँदै आएको र गोप्य सूचनाको आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रनै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।