राजनीति

दुई तिहाइको ओली सरकार जनतालाई सुशासन दिनुको सट्टा भ्रष्टाचारमा लिप्तः डा महत

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले शनिबार यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले सरकारले जनतालाई राहत दिने काम गर्न नसकेको बताए । “चाडपर्वको समयमा सहुलियत दिनुपर्ने सरकारले महँगी बढाएको छ”, उनले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई सरकारले पूरा गर्न नसकेको नेता महतको आरोप थियो । उनले दुई तिहाइको जनमत पाएको सरकारले जनतालाई सुशासन दिनुको सट्टा भष्ट्राचारमा लिप्त भएको उल्लेख गरे।

सांसद मोहन आचार्यले सांस्कृतिक पर्वले भाइचाराको सम्बन्धलाई बलियो बनाउने बताए । काङ्ग्रेस एकजुट भए आगामी उपनिर्वाचनमा सजिलै विजय हाँसिल गर्नसक्ने उनको भनाइ थियो । काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले सरकारले हरेक क्षेत्रमा कर बढाएर जनतालाई दुःख दिने काम गरेको आरोप लगाए । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति भैरव सापकोटाले पार्टीभित्रको गुटउपगुट अन्त्य नभएसम्म काङ्ग्रेस अगाडि बढ्न नसक्ने बताए ।