राजनीति

पछिल्लो समय तीनै तहमा भ्रष्टाचार बढेको छ, जनताले खबरदारी गर्नुपर्छः नेता सिंह

काठमाण्डौ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जनता र जनप्रतिनिधि मिलेर अगाडि बढेमात्र देशको विकास हुने बताएका छन् ।

टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विकास र निर्माणमा राजनीति गर्न नहुने बताए । “बहुदलीय व्यवस्थामा विभिन्न राजनीतिक दलले घोषणापत्र बनाएर जनतामाझ जाने र जितेपछि उक्त घोषणापत्रअनुसार काम गर्ने भएकाले जनप्रतिनिधिलाई सहयोग गनुपर्छ, तब विकास हुन्छ”, उनले भने ।

प्रदेश ३ का प्रदेशसभा सदस्य योगेन्द्र सङ्ग्रौलाले राजनीतिकरुपमा विभिन्न पार्टीबीच विभाजन भए पनि धार्मिक पर्वले राष्ट्रिय एकतालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले विकासको जग खडा गर्दै गएको बताए ।

प्रदेशसभा सदस्य जीवन डङ्गोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले दुई तिहाइ जनमत पाएको सरकारले जनताका पक्षमा काम गर्न नसकेको बताए ।

“पछिल्लो समय तीनै तहमा भ्रष्टाचार बढेको छ, यसलाई रोक्नका लागि जनताले खबरदारी गर्नुपर्छ”, उनले भने । टोखाको विकासका लागि काङ्ग्रेसले सहयोग गर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी टोखाका संयोजक दीपक बानियाँ, नेपाली काङ्ग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपाललगायतले स्थानीय विकासमा राजनीति गर्न नहुने बताए ।

टोखा नगरपालिका–११ का अध्यक्ष उत्तम अधिकारीले समृद्ध टोखा निर्माणका लागि टोखाभित्र रहेका सबै वडालाई बोलाएर चियापान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।