राजनीति

प्रहरीले आफ्ताव त के मलाई पनि अनुसंधान गर्छ भने काँग्रेसले अधिकार दिन्छ: सभापति देउवा

काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताएका छन् । सभापति देउवाले आफैंलाई पनि अनुसंधान गर्नुपर्ने भए त्यसको लागि आफू तयार रहेको संकेत गरेका छन् । शुक्रबारको कार्यक्रममा अफ्ताव आलमलाइ फसाएको भन्ने कुराबाट उनी आलोचित भएपछि सभापति देउवाबाट उक्त कुरा आएको हो ।

काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गरे । “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याएका छन् ।