अन्तर्राष्ट्रिय

युवाहरूको उत्थानका लागि पाकिस्तानद्वारा ६५ करोड डलरको कार्यक्रम सञ्चालन

एजेन्सी । युवाहरूको उत्थानका लागि पाकिस्तानी सरकारले ६५ करोड अमेरिकी डलर बराबरको आयोजना सञ्चालनमा ल्याएको छ । ‘सफल यूवा ९कामयाव नौजवान० कार्यक्रम’ नाम दिइएको उक्त आयोजनाले यूवाहरूलाई स्रोत तथा अवसर प्रदान गर्ने सरकारी अधिकारीहरूले बताएका पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कार्यक्रमअन्तर्गत यूवाहरूलाई कुनै उद्यम सञ्चालनका लागि ऋण उपलब्ध गराइने, शैक्षिक तथा सीप विकासका अवसर दिइने र यूवा वेरोजगारसम्बन्धी समस्यालाई सम्बोधन गरी मुलुकको गरिबी नियन्त्रण र अर्थतन्त्र विकासमा टेवा पुर्याउने बताइएको छ ।

“कार्यक्रम यूवाहरूलाई आर्थिकरूपमा स्वतन्त्र बनाउन र राष्ट्र निर्माणमा उनीहरूको भूमिकालाई महत्व दिन कोसेढुङ्गा सावित हुनेछ,” पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कार्यक्रमको उद्घाटन गर्दै इश्लामावादमा बिहीबार बताए । उनले भने, “कार्यक्रमले उद्यमका लागि यूवाहरूलाई विभिन्न तीन तहमा ऋण दिनेछ ।

ऋण ब्याजरहित, छुट तथा नियमित हुनेछ । यस योजनाले मुलुकका विभिन्न शहर तथा ग्रामिण इलाकामा १०० वटा स्मार्ट प्रयोगशाला निर्माण गरिनेछ र यी प्रयोगशालाले यूवाहरूलाई आधुनिक सीप दिनेछ ।”“सरकारले शुरूमा विभिन्न २५ हजार व्यक्तिलाई प्रशिक्षण दिने र रोजगारीको ग्यारेन्टी गर्नेछ,” उनले भने ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई विकासको मुलधारमा ल्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान गराउनका लागि सरकारले ५०० भन्दा बढी सीप प्रयोगशाला स्थापना गर्ने र उनीहरूलाई सीप सिकाउने सरकारले बताएको छ । कार्यक्रमबाट करिब १० लाख यूवाहरूले लाभ लिने बताइएको छ ।

ऋण दिँदा पाकिस्तानको सरकारी सुविधाबाट बञ्चित ४५ जिल्लालाई प्राथमिकता दिइने कार्यक्रमको उद्देश्य रहेको छ ।
स्थानीय विश्लेषकहरूले यूवाको वेरोजगारी समस्या समाधान गर्न र मुलुकमा आर्थिक सुधार ल्याउनका लागि कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारको प्रसंशा गरेका छन् । कार्यक्रमले यूवालाई आर्थिक अभावमा केही गर्न नसक्ने अवस्थाबाट छुटकारा दिलाउने र देशको मुद्रा स्फीति तथा बेरोजगार समस्यामा सहयोगी सिद्ध हुने उनीहरूको भनाई छ ।