कृषि

तिहार नजिकिएसँगै तरकारीको मूल्य आकासियो

ईनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो ।

तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताए । सुनसरी तरकारीका लागि उर्बर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताए ।

यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, रामतोरियाँ, परबल, टमाटर लगायतका तरकारीको मूल्य बढेको उपभोक्ताको भनाइ छ । पहिले प्रतिकिलो रु ३० मा पाउने तरकारी अहिले प्रतिकिलो रु ८० देखि १०० मा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताए ।

अहिले बजारमा काउली प्रतिकिलो रु १०० देखि १३० सम्म, टमाटर रु १००, परवल प्रतिकिलो रु १०० देखि १५०, बोडी प्रतिकिलो रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको उपभोक्ता चन्दन मेहताले बताए । तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेको गुनासो गरेका छन् ।