लुम्बिनी

हत्या आरोपमा एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ बेल्वानीका ३५ वर्षीय राजकुमार बाँसफोरको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उनकै आफन्त प्रतापपुर गाउँपालिका–६ का २१ वर्षीय सञ्जय डोम रहेका छन् । राजकुमारको शव मङ्गलबार प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरको पानीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

घटनास्थल नजिकै भारतीय नम्बरप्लेटको मोटरसाइकल, घडी, रगत र मोबाइल फेला परेको थियो । मृतकको टाउको, आँखा र हातमा चोट लागेको छ । पक्राउ परेका डोमले हत्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

सोमबार राति दुवै पक्षबीच सामान्य कुरामा वादविवाद भएपछि आफूले धारिलो हतियार प्रयोग गरी हत्या गरेको डोमले बयान दिएका छन् ।