अन्तर्राष्ट्रिय

अमेरिकी उपराष्ट्रपति पेन्स र विदेशमन्त्री पोम्पेओ सिरियामा

एजेन्सी । सिरियाको पूर्वी क्षेत्रमा टर्कीद्वारा सैनिक आक्रमणलाई तीब्र बनाइरहेको समयमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ बिहीबार टर्की पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले सिरियाली कुर्र्दिस समुदायलाई सहयोग गर्ने थप जोखिम नलिने बताएको एक दिनपछि उपराष्ट्रपति पेन्स र विदेशमन्त्री पोम्पेओ अङ्कारा पुगेको र उनिहरुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उत्तरी सिरियामा सैनिक आक्रमण रोक्न आग्रह गर्ने वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

अमेरिकी अधिकारीहरू टर्कीका लागि निस्कनु पहिले बुधबार राष्ट्रपति ट्रम्पले अङ्काराविरूद्ध आर्थिक प्रतिवन्ध लगाउने चेतावनी दिनुभएको थियो । उहाँले भन्नुभयो, “यदि टर्की रोकिएन भने प्रतिबन्ध र कर वृद्धिका साथै हामीले गरिरहेका अन्य कुराहरूलाई निरन्तरता दिनेछौँ, जसले टर्कीको अर्थतन्त्रलाई विनास गर्नेछ ।”

राष्ट्रपति ट्रम्पले अक्टोबर ९ तारिखमा एक पत्र लेख्दै टर्कीका आफ्ना समकक्षी एर्दोगानलाई सिरियाली आक्रमण रोक्न भनेका थिए । पत्रमा उनले सिरियामा कारबाही गरेर ‘मूर्ख नबन्न’ एर्दोगानलाई चेतावनी दिएका थिए । टर्कीको हस्तक्षेपले कुर्दिस समुदायको बाहुल्यता रहेको सिरियाको उत्तरी क्षेत्रमा मानवीय सहयोगको अवस्थालाई थप खराब बनाउने र सिरियाली सङ्कटलाई समाधानका लागि भइरहेका प्रयासलाई अवरूद्ध गर्ने अन्तर्राष्ट्रिय समुदायले बताउँदै आएको छ ।

सिरियामा स्लामिक स्टेट आइएस का लडाकूविरोधी युद्धमा अमेरिकाप्रति सहयोगी रहँदै आएको कुर्दिस लडाकूको संगठन ‘पिपुल्स प्रोटेक्सन यूनिट’ विरूद्ध लक्षित गरी आक्रमण भइरहँदा अमेरिकी राष्ट्रपतिले भने आफ्नो सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउने बताए । राष्ट्रपति ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केही दिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए ।

यद्यपि अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसदमा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।