अन्तर्राष्ट्रिय

इयू र बेलायतबीच नयाँ सहमति

एजेन्सी । युरोपेली संघबाट बेलायत बाहिरिनेबारेमा युरोपेली संघ इयु र बेलायतले नयाँ सम्झौताका लागि सहमति भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत् नयाँ सम्झौतामा पुगेको संघका अध्यक्ष क्लाउड यङ्कर र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जानकारी गराएका छन् ।

यङ्करले बिहीबार लेखेका छन् , “जहाँ चाहना, त्यहाँ उपाए । हामी एकै ठाउमा हुनेछौँ र सम्झौता गर्नेछौँ ।”“हामीले अहिले नयाँँ कानूनका लागि सहमति बनाएका छौँ । सहमति सबैको विजयका लागि भएको छ । यसले हाम्रो एकल बजार र आएरल्याण्डको शान्ति तथा स्थायित्वको रक्षा गर्नेछ भने बेलायत र इयूको मित्रतालाई निरन्तरता दिनेछ ।”

“हामीले नयाँ र वैध समाधान ल्याएका छौ जसले कडा सीमा कानूनलाई प्रयोगमा ल्याउने छैन र आएरल्याण्डको शान्ति र स्थायित्वलाई रक्षा गर्नेछ ।”बेलायत र युरोपेली संघका लागि यो सम्झौता पारदर्शी र सन्तुलित हुनुका साथै समस्या समाधानको उपायको रूपमा पनि रहेको उनले उल्लेख गरे ।

ब्रसेल्स सम्मेलन सुरु हुनुभन्दा केही घण्टा अगाडि उनिहरुबीच सम्झौता भएको हो । इयू नेताहरू सहभागी हुने ब्रसेल्स सम्मेलनबाट पास गरेपछि सहमति औपचारिकता पाउनेछ । यस पहिले पूर्व प्रधानमन्त्री टरिजा मे ले गरेको सम्झौतामा बेलायतको संसदमा बहुमत जुट्न नसक्दा ब्रेक्जिट प्रक्रिया लम्बिएको र यसका लागि नयाँ पहल प्रधानमन्त्री जोनसनले अघि बढाएका हुन् ।

बेलायती प्रधानमन्त्री जोनसोनले सम्झौतालाई अगाडि बढाउन आफ्नो संसदले साथ दिने विश्वास व्यक्त गरे । सांसदहरुको आलोचनाकाबीच उनले सम्झौता गर्न गागेका हुन् । यो सम्झौतालाई बेलायतको संसदले पनि पारित गर्नुपर्दछ ।

सहमतिबारे प्रधानमन्त्री जोनसनले भने “यो सम्झौताले मुलुकलाई सही बाटोमा लैजानेछ, देश र जनताको हितमा हुनेछ ।” उनले आफ्नो पार्टी र सत्ता साझेदार पार्टीहरूलाई पनि सम्झौताको पक्षमा उभिन आग्रह गरेको अधिकारीहरूले जनाएका छन् ।