खेलकुद

डब्लुसिएलमा आज दुई खेल हुँदैः विराटनगर र चितवन दोस्रो जितको खोजीमा

काठमाडौं । महिला फ्रेन्चाईज लिग वुमन च्याम्पियन्स लिग डब्लुसिएल अन्तर्गत आज (शुक्रबार) दुई खेल हुदैछ । पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टन तथा दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फाल्कोनबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेलमा विराटनगर र पोखरा बिहान साढे ९ बजे मैदान उत्रनेछन् । विराटनगर प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । बिहिबार ज्योति पाण्डेको ६५ रनको अर्धशतकमा विराटनगरले ललितपुरमाथि शानदार जित दर्ता गरेको थियो ।

यता, पहिलो खेलमा काठमाडौंसंग हारेको पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । रुबिना क्षेत्रीको शानदार अर्धशतकमा बिहिबार काठमाडौंसंग पराजित पोखरा अंक जोड्ने लक्ष्यमा हुनेछ । आजै हुने दोस्रो खेलमा चितवन र ललितपुर दिउँसो साढे १ बजे भिड्नेछन् ।

उद्घाटन खेलमा बलियो टिम काठमाडौंलाई हराएको चितवन लगातार दोस्रो जितको खोजीमा हुनेछ । बिहिबार आफ्नो पहिलो खेल विराटनगरलाई सुम्पिएको ललितपुर प्रतियोगितामा पहिलो जित दर्ता गर्न चाहन्छ । प्रतियोगितामा विराटनगर, चितवन र काठमाडौंले एक जित सहित २ अंक जोडेका छन् । ललितपुर र पोखरा अंक विहिन छन् ।