राजनीति

ओलीले नै पाँच वर्ष सरकारको नेतृत्वः नेता शर्मा, सभामुख काँग्रेसलाई दिनुपर्छः नेता बस्नेत

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन भने । नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पारे । आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उनले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताए ।

नेता शर्माले सङ्घीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताए । उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिए । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरे । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गरे ।