पु.समाचार

गैरआवासीय नेपाली सङ्घको मतदान व्यापक विवादकाबीच सम्पन्न

काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत केहीबेरअघि मतदान सकिएको छ । बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो । शान्तिपूर्ण रुपमा मतदान सकिएको र केहीबेरपछि मतगणना शुरु हुने सङ्घका महासचिव बद्री केसीले जानकारी दिए ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन्। नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको सङ्घको समापन समारोह नहुने भएको छ । मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।