राजनीति

सुदूरपश्चिमका सबै मिलेर अगाडि बढे मात्रै सुदूरपश्चिमको विकास गर्न सम्भवः नेता रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली जनताले देश समृद्ध भएको हेर्न चाहेको बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेशद्वारा आज धनगढीमा विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उनले देश समृद्विको दिशातर्फ अगाडि बढेको बताए । नेता रावलले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुजातीय मुलुक भएकाले विभिन्न समुदाय तथा जातजातिले मनाउने जुनसुकै चाडपर्व हाम्रो सांस्कृतिक बगैँचाका फूलबारी जस्तै भएको र हामीले त्यसको संरक्षण गर्नुपर्ने उल्लेख गरे ।

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले हरेक समुदायले मनाउने गरेको चाडपर्वले समुदायबीच एक अर्काको एकताको भाव पैदा गर्ने भएकाले यी चाडपर्वको संरक्षण तथा सम्बर्धन गर्नुपर्नेमा जोड दिए । उनले हरेक चाडपर्वमा विकृतिसमेत रहेकाले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो गाउँ, ठाउँ र प्रदेशलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सबै एकमत भएर अघि बढनुपर्ने बताए । सबै मिलेर अगाडि बढेमा मात्रै सुदूरपश्चिमको विकास गर्न सकिने उनको भनाइ थियो । नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभाका सभामुख, सङ्घीय सांसद, प्रदेश मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।