खेलकुद

अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

कास्की । पोखरामा यही असोज २९ गते ९ अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन केएमइएको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताएका छन् ।

टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौँ, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि चीनका दुई टोली तथा नेपालका टोली पोखरा आइपुगेको र व्यवस्थापकीय, सुरक्षालगायत सम्पूर्ण तयारी सकिएको उनले बताए । व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् ।

एकसय पाँच खेलाडीको सहभागिता रहने सो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् ।दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट बिहान ९ बजे शुरू हुनेछ ।

दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिएका छन् । उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने ४० किमीको दौडमात्र रहेको र दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दी–भुम्दीसम्म पुग्नेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु¥याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुने उनको भनाइ थियो । प्रतियोगिता सम्पन्न गर्न रु ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।