प्रवास

एनआरएन अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेलको दाबी

माठमाडौं । गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आउनेक्रम जारी छ । हुनतः दशैंतिहारको अबसर पारेर एनआरएनएले विश्व सम्मेलन तथा अन्तराष्टिय महाधिवेश गर्ने हुनाले एनआरएनहरुलाई चाडबाड मनाउने र महाधिवेशनमा सहभागी हुने एक पथ दुई काज हुने गरेको छ । महाधिवेशन नजिकिँदै जाँदा चुनावको माहोल पनि तात्दै गएको छ । काठमाडौंमा यही अशोज २८ देखि ३० सम्म हुने महाधिवेशनमा उम्मेदवारी घोषणा गर्नेक्रम तीब्र बनेको छ ।

अमेरिकाको टेक्सासमा बसेर विभिन्न ब्यवसायमा आफूलाई स्थापित गरेका राम सि। पोखरेल यो भिडमा फरक अनुहारका रुपमा देखिएका छन् । एनआरएन अमेरिकाको उपाध्यक्ष भइसकेका पोखरेल एनआरएन अभियानमा लामो मसयदेखि सक्रिय छन् । अमेरिकाज क्षेत्रको सह–संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेपछि पोखरेलको चर्चा चुलिएको छ । पदका पछि दगुर्नेहरुको भिडमा उनी फरक छन् । उनी पदमा नभएका बेलामा पनि नेपाली समुदायको हितमा निरंतर लागि परेका हुन्छन् । नेपाली समुदायमा कुनै समस्या आई पर्दा पहिला गुहार्ने नाम हो राम सि. पोखरेल । उनको ब्यवसाय एउटा सिस्टममा अगाडि बढेको छ, उनी भने समाज सेवामा सक्रिय देखिन्छन् ।

सामाजिक गतिविधीसँगै प्रवासी नेपालीहरुलाई मातृभूमीसँग जोड्नु पर्छा भनेर पोखरेल सन् २००८ मा एनआरएनए अमेरिकाको सदस्य बने । उनलाई गैरआवासीय नेपालीहरुले सन् २०१५ मा सोही संस्थाको उपाध्यक्षमा निर्वाचित गरे । मतदाताहरुले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले एनआरएनए अभियानमा रहेर धेरै अनुभव हासिल गरिसकेका छन् । तिनै अनुभवलाई प्रयोग गर्दै उनी अमेरिकाज क्षेत्रको सह–संयोजक बनेर एनआरएनए अमेरिका र एनआरएनए आइसिसीबीच पुलको काम गर्दै मुलुकलाई समृद्ध बनाउन योगदान गर्ने आफ्नो योजना सुनाउँछन् ।

भद्र स्वभावका उनी टेक्सासको नेपाली समुदायमा आँखामा राख्दा पनि नविझाउने ब्यक्तिका रुपमा परिचित छन् । उनले टेक्ससका नेपालीहरुले संगठित हुन स्थापना गरेका नेपाली समाज टेक्ससको सन् १९९८ मा साधारण सदस्यता लिएर सामाजिक अभियन्ताका रुपमा सक्रिय भएका थिए । छोटो समयमै उनले नेपाली समुदायमा निश्वार्थ समाजसेवा गर्ने ब्यक्तिका रुपमा आफ्नो छाप छाड्न सफल भए । त्यसपछि नेपाली समुदायले उनलाई सन् २००७ मा नेपाली समाज टेक्ससको अध्यक्षको जिम्मेवारी सुम्पियो । उनले दुई बर्ष समाजको नेतृत्व गर्दा नेपाली समुदायमा निकै लोकप्रियता हासिल गरे । उनले अमेरिकाको पहिलो लायन्स क्लब ड्यालस एभरेष्ट लायन्स क्लबको आफ्नै अगुवाइमा सन् २००२ मा स्थापना गरे । सन् २००८ मा उनले अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरे । ड्यालसमा नेपाली समुदायले ठूलो मन्दिर निर्माण गरेको छ । उक्त मन्दिरको पोखरेल बोर्ड अफ ट्रस्टी हुन् । समाज सेवामा उनको सक्रियता छँदैछ, समाजिक कामका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पनि नेपाली समुदायले सबैभन्दा पहिले सम्झने नाम हो राम सि. पोखरेल ।

अमेरिकाज क्षेत्रका अमेरिका, क्यानाडा, चिली, ब्राजिललगायतका मुलुकमा मात्रै एनआरएनए राष्ट्रिय सनन्वय समिति गठन भएकाछन् । तीबाहेकका मुलुकमा नेपालीको उपस्थिति उल्लेख्य भए पनि उनीहरु संगठित हुन सकेका छैनन् । पोखरेल आफू सहसंयोजकमा निर्वाचित भए ती मुलुकमा रहेका एनआरएनहरुलाई संगठित गराएर राष्ट्रिय समन्वय परिषद् स्थापना गर्ने योजनामा छन् । अमेरिकाज क्षेत्रभित्र रहेका राष्ट्रहरुमा बस्ने नेपालीलाई पर्ने समस्या समाधान गर्न आफूले पहल गर्ने पोखरेल बताउँछन् ।
एनआरएनए अभियानमा महत्वपूर्ण भुमिका खेलिरहेका अमेरिका र क्यानडाका एनआरएनए एनसिसिमा एनआरएनएहरुलाई संगठित गर्न राष्ट्रिय परिषदसँग मिलेर कामहरु गर्ने आफूले ध्यान केन्द्रित गर्ने उनी सुनाउँछन् ।

नेतृत्व तहमा बसेर आफ्नो क्षमता देखाइसकेका पोखरेल एनआरएनए अमेरिकाज क्षेत्रको सह–संयोजकका प्रवल दावेदार हुन् । त्यस क्षेत्रका प्रतिनिधि पनि पोखरेलको विकल्पमा अर्को उम्मेदवार नदेखेको बताउँछन् । पोखरेल आफ्नो विजय हुने कुरामा ढुक्क छन् ।