राजनीति

गिरिजाप्रसाद कोइराला विश्वको लोकतान्त्रिक नेताः पूर्वराष्ट्रपति डा. यादव

काठमाण्डौ । पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइराला नेपालको लोकतान्त्रिक नेता भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिहरूको परिचयात्मक कार्यक्रम’मा उनले गिरिजाप्रसाद कोइरालाजस्तो दृढ अठोट भएको नेताका कारण मुलुकमा लोकतन्त्र आएको बताए।

“जङ्गलमा विद्रोह गरेर बसेको माओवादीलाई शान्तिप्रक्रियामा ल्याएर लोकतान्त्रिक मुलुक निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको छ,” उनले भने । पूर्वराष्ट्रपति डा यादवले कोइरालाले चारवटा राजाको सङ्गत गरेको र अन्तर्राष्ट्रिय समुदायले लोकतान्त्रिक नेता भनेर चिनेका कारणले नै सरकारले आतङ्ककारी घोषणा गरेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे सम्झौता गर्दा पनि उनलाई कसैले थुन्ने आँट नगरेको उल्लेख गरे । गिरिजाप्रसाद कोइरालालाई शान्ति, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताबाट कसैले चाहेर पनि अलग गर्न नसक्ने उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र बलियो बनाउन सबै राजनीतिक दलका नेतालाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने उल्लेख गरे । दलका नेताले शान्ति, लोकतन्त्र र राष्ट्रहितलाई सर्वोपरि राख्नुपर्ने उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपालको तीव्र विकासका लागि कृषिको आधुनिकीकरण पहिलो प्राथमिकता भएको बताए । “जलविद्युत्, पर्यटनसँगै आधुनिक कृषिको विकासमा सरकार लाग्नुपर्छ,” उनले भने ।

महामन्त्री कोइरालाले फाउण्डेशनले देश विकासको क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले विपी कोइराला नेपालको प्रधानमन्त्री हुँदा एक चीन नीति अँगाल्नु भएको र त्यसले अहिले पनि निरन्तरता पाइरहेको बताए।

विपी कोइरालाको बेलाको संयुक्त राष्ट्रसङ्घको बैठकमा नै विपीले चीनलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा राख्नुपर्ने आवाज उठाउनु भएको स्मरण डा महतले गरे । गिरिजाबाबु प्रधानमन्त्री हुँदा देशको विकासको जग खडा भएको उनको भनाइ थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसमा विचारलाई बन्देज लगाउने गरी विनियमावली बनाउन लागेको भन्दै विचारको स्वतन्त्रतामा बन्देज लगाएमा पार्टी समाप्त हुने बताए । काङ्ग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले गिरिजाबाबुको कारणले नै मुलुकमा लामो समयदेखि अस्थिर रहेको राजनीति समाप्त भएको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि टान फाउण्डेशनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

काङ्ग्रेस नेत्री एवम् फाउन्डेशनका अध्यक्ष सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाले अगाडि बढाउनु भएको सहमति, सहकार्य र एकताको मार्गबाटै शान्ति, लोकतन्त्र, गणतन्त्र संस्थागत भई देशमा समृद्धि आउने बताए ।

गिरिजाप्रसाद कोइरालाले अगाडि सारेको शान्ति, लोकतन्त्र र विकासको नारालाई अगाडि बढाउन र उनका विचारलाई देश तथा विदेशसम्म पु¥याउन स्थापना भएको फाउण्डेशनले नेपालको सात प्रदेश, ७७ जिल्ला र विदेशका झण्डै एक दर्जन मुलुकमा शाखा विस्तार गरिसकेको छ ।

सोही अवसरमा फाउण्डेशनलाई क्रियाशील बनाउन सहयोग गर्ने फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष सुदर्शन थापामगरलाई विशेष सम्मान तथा फाउण्डेशनलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।