राजनीति

कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्छः अध्यक्ष दाहाल

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण, त्यसपछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गरे । अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग एवं सद्भावप्रति आभार व्यक्त गर्नुएको दाहालको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुस भएको बताउँदैे दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एकार्काका अनुभव साटासाट गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रपति सीले अध्यक्ष दाहालले बिआरआईमा हस्ताक्षर गरेपछि नेपाल र चीनबीचको सम्बन्धमा नयाँ युगको शुरुआत भएको बताउँदै दुवै देश र जनताको हितका निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनोट र तीव्र क्रियान्वयनमा जोड दिनुपर्ने बताए । उनले विकासविना राजनीतिक स्थायित्व हासिल गर्न नसकिने बताउँदै समृद्ध चीन नेपालका लागि अवसर भएको जनाए ।

राष्ट्रपति सी जिनपिङले दुवै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । “देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ”, राष्ट्रपति सीको भनाइ थियो । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सी र अध्यक्ष दाहालबीचको भेटमा पार्टीका सचिवालय सदस्यको पनि उपस्थिति थियो ।