अन्तर्राष्ट्रिय

मोदी र चिनियाँ राष्ट्रपति ‘सी’बीच शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने सहमती

महाबलीपुरम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र चीनबीचको सम्बन्धमा ‘नयाँ युग’ को शुरू भएको शनिबार बताएका छन् ।

जनसङ्ख्याका हिसाबले विश्वका दुई ठूला मुलुकबीच देखिँदै आएका समस्यालाई कम गर्दै जाने बिषयमा प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी चिनपिङबीच चिनियाँ नेताको दुई दिने भारत भ्रमणको दोस्रो दिन चेन्नईको दक्षिणमा रहेको ऐतिहासिक ताज फिशरम्यान कोव रिसोर्टमा एक्ला एक्लै भेटवार्ता भएको हो ।

दुई नेताबीच विगत १८ महिनामा भएको यो दोस्रो भेटवार्ता हो । उनीहरूबीच करिब डेढ बर्ष पहिले चीनको उहानमा भएको शिखर सम्मेलनका प्रतिवद्धतालाई कार्यान्वयन गर्न इमान्दार प्रयास जारी राख्ने सहमति भएको छ ।

“भेटवार्तामा दुवै पक्षले विवेकसम्मतरूपमा कुनै पनि बिषयमा रहेका मतभिन्नतालाई व्यवस्थापन गर्ने सहमति बनेको छ,” भारत सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री मोदीले थपे, “उहान सम्मेलनले हाम्रो सम्बन्धमा नयाँ स्वरूप र बढ्दो स्थायित्व प्रदान गरेको छ । हाम्रो चेन्नई दृष्टिले चीन र भारतबीच सहकार्यको नयाँ युगको थालनी गरेको छ ।”

राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमण्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए । चीन–भारत उच्चस्तरीय आर्थिक व्यापारिक वार्ता प्रणालीको स्थापनाका आधारमा आर्थिक विकासको रणनितिक सम्पर्कलाई अझ प्रबर्द्धन गर्नुपर्ने र उद्योग व्यवसायको साझेदारी सम्बन्धको स्थापनाबारे छलफल गर्नुपर्ने धारणा राष्ट्रपति सीले राखेका छन्।

भारतीय औषधी र सूचना उद्योग व्यवसायहरूमा चीनलाई लगानी लगाउन प्रधानमन्त्री मोदीले स्वागत व्यक्त गरेको जनाइएको छ । प्रधानमन्त्री मोदीले चीनसँगको वास्तविक सहकार्यलाई अझ बढी गहन पार्न भारत इच्छुक रहेको बताउनुका साथै चिनियाँ उद्योग व्यवसायहरूलाई भारतीय उद्योगमा लगानीका लागि अह्वान गरेका छन् ।

अमेरिकासँग संरक्षणवादी नीति लिएका दुवै मुलुकले आपसी बजारका लागिसमेत व्यापक पहुँच विस्तार गर्ने सहमति भएको बताइएको छ ।

यसबाहेक चीनले भारतमा आफ्नो फाइभ–जी नेटवर्क विस्तार, आतङ्कवाद विरोधी अभियान, क्षेत्रीय सुरक्षाको प्रत्याभूत गर्नेलगायतका बिषयमा पनि छलफल भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।