राजनीति

राष्ट्रपति ‘सी’को भ्रमण आज: स्वागत गर्न सत्ता र प्रतिपक्ष देखिए आतुर

काठमाण्डौ । शक्तिशाली राष्ट्र चीनका राष्ट्रपति सी चीनफिङको आजअसोज २५ गरे र भोली २६ गते हुने भ्रमण ऐतिहासिक र दूरगामी महत्व राख्ने र नेपालको भविष्यको रेखा कोर्ने स्तरको हुने अनुमानका साथ नेपाली जनता उनलाई नेपालमा स्वागत गर्न आतुर देखिएका छन् । सीको भ्रमण यसकारण पनि महत्वको छ कि उनी २३ वर्षपछि चिनियाँ राष्ट्रपतिका रुपमा नेपाल भ्रमणमा आउने भएका हुन् । चिनियाँ राष्ट्रपति लि सियन नियन सन् १९८४ र जियाङ जेमिन १९९६ मा नेपाल आएका थिए भने तेस्रो चिनियाँ राष्ट्रपतिका रुपमा सी अहिले नेपाल आउने भएका हुन् ।

आर्थिक विकासले अमेरिका पछि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेर विश्वमै प्रभाव जमाउन सफल चीन जस्तो शक्ति राष्ट्रका राष्ट्रपतिले नेपाल भ्रमण गर्ने समय मिलाउनु नेपाल जस्तो सानो छिमेकीका लागि एक सुखद् अवसर हो । यो चीनले नेपाललाई दिएको महत्वको एक प्रमाण पनि हो । नेपालकी छोरी भृकुटी, नेपाली कलाकार अरनिको, चिनियाँ यात्री ह्वेन साङ आदिका कारण निकटतामा आएका नेपाल र चीन बौद्घधर्मको उद्गम र प्रभावस्थलका रुपमा परिचित छन् । नेपालमा जन्मिएको बौद्ध धर्म चीन हुादै जापानसम्म पुगेको थियो भने विश्वलाई नै शान्तिको बाटो देखाउने एक दर्शनका रुपमा पनि नेपाल र चीन दुवैमा सम्मानजनक स्थान बनाउन सफल भएको थियो । बौद्धधर्मकै कारण नेपालको उत्तरी क्षेत्र र चीनका जनताबीच धेरै सांस्कृतिक समानता रहेका छन् । भृकुटी र अरनिकोका कारण पनि नेपालले चीनमा सम्मान प्राप्त गरेको छ ।

इतिहासका यी सम्पर्क सूत्रका साथै आधुनिक कालमा पनि नेपालले सन् १९५५ मा चीनसंँग दौत्य सम्बन्ध स्थापना गरेयता दिन परदिन सुदृढ हुनाका साथै नेपालले चीनबाट आर्थिक सहयोग प्राप्त गर्दै आएको छ भने विश्व रङ्गमञ्चमा एक दरिलो मित्रराष्ट्रका रुपमा परिचित भएको छ । चीन सन् १९४९ अक्टोबर १ मा जब जनवादी गणतन्त्र घोषित भयो, त्यसपछि नेपालले कहिल्यै चीनबाट थिचोमिचो र हेपाहापूर्ण व्यवहार सहनु परेन भने कुनै पनि मन बिझाउने घटना बेहोर्नु परेन । सगरमाथासम्बन्धी विवाद दुई देशले सन् १९६१ अक्टोबर ५ मा आपसी वार्ताबाटै सुल्झाए । नेपालले आफ्नो उत्तरी सीमामा कहिल्यै अप्रिय घटना बेहोर्नु परेको पनि छैन । नेपालले पनि चीनलाई एक चीन नीतिप्रति प्रतिबद्ध भई चीनलाई अन्तरराष्ट्रिय मञ्चमा साथ दिँदै आएको छ । नेपाल चीनविरुद्घ नेपाली माटो प्रयोग हुन नदिनमा सधैँ सचेत रहँदै आएको छ । चीनका नेता माओ त्सेतुङप्रति नेपालीको अगाध आस्था थियो भने नेपालका प्रधानमन्त्री टङ्कप्रसाद आचार्य, बिपी कोइराला, कीर्तिनिधि विष्ट, राजा महेन्द्र, राजा वीरेन्द्र आदिले अध्यक्ष माओलाई भेटी नेपाल–चीन मित्रतालाई बढाएका थिए । यसैगरी चीनका प्रधानमन्त्री चाउ एन लाइले पनि सन् १९५७ र १९६० मा नेपालको भ्रमण गरेका थिए । नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, आदिले पनि चीनको भ्रमण गरेका थिए । यसैगरी नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीनको भ्रमण गरी नेपाल–चीन सम्बन्धलाई मजबुत वनाएका छन् ।

चीनले नेपालमा ठूला र अत्यन्त उपयोगी पूर्वाधार निर्माण गर्न सहयोग गरेको थियो । अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ—गोरखा राजमार्ग, भृकुटी कागज कारखाना, बाँसवारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा कारखाना आदि निर्माण गरिदिएर नेपालीलाई आत्मनिर्भर बनाउनेतर्फ ठूलो सहयोग गरेको थियो । यीमध्ये केही कारखाना हाम्रै अव्यवस्था र अदूरदर्शिताका कारण समाप्त पारिए पनि अन्य भौतिक पूर्वाधारबाट हामीले फाइदा लिइरहेका छौंँ ।

पछिल्लो समय राष्ट्रपति सी सत्तामा आएपछि सन् २०१३ मा अघि सारिएको बेल्ट एण्ड रोड (बिआरआई) योजनाले नेपाललाई पनि सुनौलो भविष्यको बाटो देखाएको छ । यो आयोजना कार्यान्वयन भएमा हामीले चीनजस्तो ठूलो बजार प्राप्त गर्नेछौँ भने हामीले चीनबाट विज्ञान प्रविधि सिक्न सक्नेछौंँ र चीनको विकासको लाभ हामी पनि प्राप्त गर्न सक्नेछौंँ । बिआरआईमार्फत नेपाल र चीन मात्र होइन विश्वका १५२ भन्दा बढी राष्ट्र र अन्तरराष्ट्रिय संङ्गठन जोडिनेछन् र हामी पनि ती राष्ट्र र सङ्गठनसंँग स्वतः जोडिनेछौंँ जसले हामीलाई नयाँ रेशममार्गमार्फत युरोप जस्तो विकसित क्षेत्रसँंग पनि जोड्नेछ ।

नेपाल—चीन सम्बन्ध खासगरी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रथम पटक प्रधानमन्त्री भएपछि २०७२ चैतमा गर्नुभएको चीन भ्रमणबाट नयाँ उचाइमा पुगेको हो । सो अवसरमा भएका १० बुँदे सम्झौताले नेपाल चीनबीच रेलमार्ग निर्माणमा सहयोग, प्रसारणलाइन निर्माण, जलविद्युत् आयोजना निर्माण तथा नेपाल र चीनबीच पारवाहन सम्झौता भई नेपालले चीन भई तेस्रो देशसंँग व्यापार गर्ने मार्ग खुल्न गयो भने पछि नेपालका राष्ट्रपति चीन भ्रमणमा जानुभएका बेला भएको सम्झौताले नेपालले चीनका तियान्जिन, शेन्झेन, लियानयुङगाङ र झान्जियाङ गरी चार बन्दरगाह र लान्चौ, ल्हासा र सिगात्सेका तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था भयो । यो नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रका लागि एक युगान्तकारी पाइलो हो । हामी त चीनबाट कोलकाता भई सामान आयात गर्नुपर्ने अवस्थामा सीमित भएका बेला हिमालको बाटो भई रेल र सडक मार्ग हुँदै तिब्बतबाट सामान आयात गर्न पाउनु मात्र होइन हाम्रा सामान चिनियाँ बन्दरगाहमार्फत विश्व बजारमा बेच्न पनि सकिन्छ भन्ने अवस्थामा आउनु सानो परिवर्तन होइन । यसबाट चीनले हाम्रा लागि बाटो खोलिदिएको छ जसबाट हामी भविष्यमा समृद्धीको मार्गमा अग्रसर हुन सक्छौंँ ।

यस्तो परिवेशमा चीनका राष्ट्रपति सीबाट नेपालको भ्रमण हुनु अत्यन्त खुशीको कुरा हो भने नेपाल र चीनवीच भ्रमणका अवसरमा खासगरी सम्पर्क सन्जाल निर्माण र पूर्वाधारमा रेलमार्ग, सडक, अप्टिकल फाइबर, विद्युत् प्रसारण लाइन, व्यापारिक सम्बन्ध विस्तार आदि विषयमा छलफल हुने सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताइसक्नुभएको छ । चीनका राष्ट्रपतिको यस भ्रमणमा खासगरी केरुङ–काठमाडौँ रेलमार्ग निर्माणमा लगानीको प्रारुपमा छलफल भई सहमति हुने अपेक्षा गरिएको छ ।
काठमाडौँका सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर कालोपत्रे गर्ने, रङरोगन गर्ने र चीन र नेपालका राष्ट्रपतिका फ्लेक्स प्रिन्टका साथै नेपालका प्राकृतिक तथा ऐतिहासिक सम्पदाका ठूलाठूला तस्वीर र स्वागतद्वारले सजाएर नेपाल सीको भ्रमणलाई स्वागतका लागि तम्तयार भएर बसेको छ । राजधानीको तीनकुनेमा अव्यवस्थित खाली जमीनमा हरियालीसहितको सुन्दर उद्यान पनि बनाइएको छ ।

राष्ट्रपति सीको भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भटृराई, आदिसँंग परामर्श गर्दा सबैले भ्रमणलाई ऐतिहासिक र फलदायी बनाउनमा सबैको एउटै स्वर भएको पाइएको छ । आफ्नो मात्र होइन अरु सबै छिमेकीलाई पनि विकासको मार्गमा संँगै लिएर जाने भावना राख्ने राष्ट्रपति सीको भ्रमण सफल बनाउन दिल खोलेर सहयोग पु¥याउनु हरेक नेपालीको कर्तव्य हुने भएकाले भ्रमण सफल बनाउन सबै जुट्नुपर्ने ऐतिहासिक अवसर आएको छ ।