बाग्मती

काँग्रेसबाट विजयी अध्यक्ष तामाङको घोषणाः मृतकका परिवारलाई तत्काल २५ हजार दिन्छौं

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ ।

दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो ।

केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । बसमा ११० जना यात्री चढेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोख्रेलले बताएका छन् ।

प्रहरीको प्रारम्भीक अनुसंधानबाट ३४ जना आट्ने सीटमा धेरै यात्रु चढेका कारण ओभरलोडकै कारण बस दुर्घटना भएको बताईएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए । गत स्थानीय तह निर्बाचनमा अध्यक्ष तामाङ नेपाली काँग्रेसबाट विजयी भएका थिए ।  अध्यक्ष तामाङ घाईतेको उद्धारका लागि घटना भएको थाहा पाउनेृ बित्तिकै हेलिकप्टेर लिएर घटनास्थल गएका थिए ।