तस्विरहरु

६४ औं प्रहरी दिवस -प्रधानमन्त्री, गृहमन्त्री र आईजिपी एक ठाँउमा (१० तस्वीरसहित)

काठमाडौं । ६४ औं प्रहरी दिवस २०७६ का अवसरमा देशभरका प्रहरी कार्यालयहरुमा समेत विविध कार्यक्रमहरुका साथ प्रहरी दिवस मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य तथा गृहमन्त्री रामबहादुर थापाको बिशेष आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच ६४ औं प्रहरी दिवस २०७६ सम्पन्न भएको हो ।

प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयस्थित श्रद्धाञ्जली समारोहमा प्रधानमन्त्री ओलीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । उनले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, अन्तर जिल्ला कार्यदक्षता मूल्याङकन २०७६ मा सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीलाई प्रशंसापत्र प्रदान गरे । सो अवसरमा प्रधानमन्त्री ओलीले “प्रहरी दर्पण २०७६” को लोकार्पण समेत गरे । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मायाको चिनो समेत प्रदान गरे ।

श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानवीन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताए । प्रहरीको कामको गम्भिरता र चुनौती बढेको अवस्थामा नेपाल प्रहरीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम मार्फत ल्याएको सहकार्यको अभियान अत्यन्तै महत्वपूर्ण रहेको उनले चर्चा गरे ।

 गृहमन्त्री रामबहादुर थापाले यस वर्ष घोषित वीरगति प्राप्त गर्नुभएका अमर प्रहरीका आश्रित परिवारहरुलाई कदरपत्र प्रदान गरे। प्रहरी सेवालाई अझ बढी प्रभावकारी बनाउन फौजदारी अपराधसंहितासँग सामञ्जस्य हुनेगरी भौतिक संरचना, प्रविधिको विकास तथा क्षमता अभिवृद्धिका साथै प्रहरी कर्मचारीहरूको सुविधा अभिवृद्धि गर्न मन्त्रालय प्रयत्नशील रहेको उनले बताए ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यबाद ज्ञापन गर्दै राष्ट्र निर्माणको यस महत्वपूर्ण क्षणमा सामाजिक रूपान्तरण र दिगो शान्ति कायम राख्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताए । आपसी सहिष्णुता, एकता कायम राख्दै समाजमा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई पूर्ण नियन्त्रण र निस्तेज गरी कानुनी राजको प्रवर्द्धन गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको उनले उल्लेख गरे ।

संगठित र अन्तरदेशीय संजालमा अपराध विस्तार हुँदै गएको अवस्थामा लागूऔषध, मानव बेचबिखन, विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार, तस्करी जस्ता चुनौती सामना गर्न अपराध अनुसन्धानको कुनै पनि कसुरको शीघ्र अनुसन्धान र कसुरवालाको तत्काल पक्राउ गर्ने विषयमा नेपाल प्रहरी प्रष्ट रहेको उनले बताए । प्रहरीका अनुसन्धानका संयन्त्र र इकाई विस्तार गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान व्यूरो र केन्द्रीय साइवर व्यूरो स्थापना गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश प्रवाह भएको तथा संगठनभित्र जवाफदेहिता र शुद्धिकरणको अभियानलाई थप सशक्त बनाइएको बताए ।